काठमाडौं । सत्तारुढ दल भित्रैबाट सरकारका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग भएको छ । सत्तारुढ गठबन्धनको एउटा घटक सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्। गमभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बनविरुद्ध मंगलबार अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले उनलाई काम गर्न दिन र तत्काल कारबाही नगर्न भनेको छ। सरकारले गठन गरेको अधिकारीमाथिको छानविन समितिलाई समेत काम नगर्न भनेपछि सरकार र विषेशगरि अर्थमन्त्रीको चौतर्फी आलोचना भईरहेको छ । अदालतको आदेशसँगै १२ दिनको विश्रामपछि गभर्नर अधिकारी कार्यालयमा फर्किएका छन् । दुई दशकअघि आफूले हटाएका गभर्नर तिलक रावललाई सर्वोच्च अदालतले पुनर्बहाली गराएपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए। त्यही नजिर स्मरण गराउँदै कांग्रेस महामन्त्री शर्माले अहिलेका अर्थमन्त्री शर्माले पनि त्यसो गर्नु उचित हुने संकेत गरेका हुन्। महेश आचार्यको तस्बिरसहित बुधबार बिहान शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बेलाबेला यस्तो तस्बिर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्– नैतिक मूल्यको प्रस्तुतिलेनै सुन्दर बन्दै जान्छ राजनीति।’ उनले अगाडि लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो।’
केही अघि पनि नेपाली कांग्रेसका नेता एंव सांसद प्रकाश रसाईली स्नेहीले पनि अर्थमन्त्री पूर्ण रुपले असफल भईसकेकाले राजीनामा माग गरेका थिए । तर प्रचण्डले भने केहीदिन अगाडीको पत्रकार सम्मेलनमा तत्काल अर्थमन्त्रीको विकल्प नरहेको बोलेका थिए ।