काठमाडौँ ।चितवनको सिमलतालमा पहिरोसँगै खसेर त्रिशूली नदीमा खसेका दुईवटा यात्रुबाहक बससँगै वेपत्ता यात्रुहरुको घटनाबारे कार्यदलले काम सुरु गरेको छ ।बुधबार घटनास्थल पुगेर गृहमन्त्रालयद्धारा गठन गरिएको कार्यदलले आफ्नो काम सुरु गरेको हो । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु सहित बेपत्ता भएको थियो । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको थियो । दश दिनको कार्यादेश दिइएको कार्यदलले बुधबार घटनास्थल पुगेर अध्ययन थालेको हो । सो क्रममा घटनाको प्रकृती पहिरोको स्रोत, बाटोको भौगोलिक अवस्थाका बारेमा सरोकारवालासंग छलफल गर्दै कार्यदलले अहिले सम्म खोजी कार्यका लागि भएका प्रगतीको विषयमा समेत जानकारी लिएको छ ।सो क्रममा सरोकारवालाहरुले उच्चस्तरीय प्रविधिको प्रयोग गरेर सिमलताल घटना अध्ययन गर्न सुझाव दिएका थिए ।चितवनको भरतपुर महानगरपालिका २९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये अहिलेसम्म १८ जनाको शव भेटिएको छ ।असार २८ गते बिहान सिमलतालमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नं. र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।