
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनमार्फत जनताको अधिकारलाई कटौति गर्न लागिएको भन्दै भ्रम छर्न खोजिएको बताउनुभएको छ ।मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै थापाले संविधानले दिएको अधिकार कसैले कटौति गर्न नसक्ने भन्दै ०४७ कै संविधानतिर लैजाने बहस सहि नभएको बताउनुभएको हो । उहाले संविधान सशोधनमार्फत अहिलेको निर्वाचन प्रणालीलाई राम्रो बनाउन सकिने उल्लेख गर्नुभयो ।एउटा दलले ४० प्रतिशत हाराहारी मत ल्याउँदा पाँच वर्ष सरकार चलाउने गरी मिलाउन सक्ने व्यवस्था गर्न सकिने उहाले बताउनुभयो । थापाले संविधान संशोधनका नाममा चलेका आरोपबाट कांग्रेस–एमाले भाग्न नहुने भन्दै जनतालाई स्पष्ट पार्न सक्नुपर्ने धारणा राख्नुभयो ।उहाले आफुहरु यसअघि प्रतिपक्षीमा रहदा उठाएका मुद्धाहरु सत्तापक्षमा रहदा पनि कायमै रहेको र गिरिबन्धु टी–स्टेट, नक्कली भुटानी शरणार्थी ठगी प्रकरण, ट्रंक लाइन विवाद, सहकारी ठगी प्रकरणको निष्पक्ष छानविन हुनुपर्ने बताउनुभयो ।थापाले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति कार्यान्वयन नै मुख्य विषय भएकाले त्यही अनुसार नै अघि बढ्ने स्पष्ट पार्नुभयो । ठूला दल मिल्नुपर्ने अवस्थाको औचित्यबारे पुष्टि गरिनुपर्ने उहाको भनाइ छ ।




























