
काठमाडौँ । नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार विमान ड्रोन आक्रमणको जोखिमबाट थोरैले मात्र जोगिएको दाबी गरेका छन्।जेलेन्स्की नर्वेका दिवंगत राजा ह्याराल्ड पाँचौँको अन्त्येष्टिमा सहभागी हुन मोल्डोभा हुँदै नर्वेको राजधानी ओस्लो जाँदै थिए। मोल्डोभाबाट ओस्लोतर्फ उडान भर्ने क्रममा जेलेन्स्की सवार विमान ड्रोनको निशानामा पर्नै लागेको प्रधानमन्त्री स्टोरले नर्वेजियन सार्वजनिक प्रसारक एनआरकेसँग बताएका छन्।स्टोरका अनुसार जेलेन्स्कीले यस्तै वास्तविक जोखिमबीच आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्।ड्रोनको जोखिमलाई ध्यानमा राख्दै मोल्डोभा सरकारले केही समयका लागि आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको थियो। सरकारी प्रवक्ताका अनुसार हवाई क्षेत्र बन्द हुँदा जेलेन्स्की सवार विमानको उडानसमेत ढिला भएको थियो। मोल्डोभाको भूभागमा रुसी ड्रोन खसेपछि मात्र विमानलाई उडान अनुमति दिइएको बताइएको छ।अमेरिकी थिंक ट्यांक इन्स्टिच्युट फर द स्टडी अफ वार (आईएसडब्ल्यू) का अनुसार मंगलबार एउटा रुसी ‘साहेद’ ड्रोन युक्रेनबाट मोल्डोभा हुँदै रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरेको थियो। उक्त ड्रोन करिब एक घण्टासम्म सो क्षेत्रमा उडेको र पछि मोल्डोभामा खसेको बताइएको छ।यद्यपि, मोल्डोभामा खसेको यही ड्रोनका कारण जेलेन्स्की सवार विमान जोखिममा परेको हो वा अर्कै ड्रोनबाट खतरा उत्पन्न भएको हो भन्ने विषयमा भने स्पष्ट पुष्टि भइसकेको छैन।



























