
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम आउँदो मंसिरभित्र सुरु नभएमा ठेक्का तोड्ने चेतावनी दिएका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मंसिरभित्र काम सुरु नभएमा बाध्यतावस ठेक्का तोड्नुको विकल्प नहुने बताए ।उनले विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्छ उल्लेख गरे ।
भौतिकमन्त्री दाहालले निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्मका काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराए ।केही दिनअघि पश्चिम नवलपरासीमा राजनीतिक दलका प्रतिनिधिहरुसहित बसेको सर्वपक्षीय बैठकले सडक विस्तारमा भइरहेको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । सोही अनुसार जनप्रतिनिधिहरुको टोली आज प्रधानमन्त्रीलाई भेट्न बालुवाटारस्थित निवास पुगेको थियो ।
उनले भने, ‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरुले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ । यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गनुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छौँ ।’




























