
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने सन्दर्भमा सत्तारुढ दलका प्रमुख सचेतकहरुसंग छलफल गर्नुभएको छ ।आइतबार सिंहदरबारमा भएको छलफलका क्रममा सभामुख घिमिरेले सदनलाई प्रभावकारी ढंगले अघि बढाउने वातावरण बनाउन र विधेयकहरुलाई छिटो अघि बढाई बिजनेश दिन आग्रह गर्नुभएको थियो ।समितिमा अल्झिएर रहेका बिधेयक, अघिल्लो संसददेखि थाँती रहेका केहि बिषय लगाएतमा सभामुखले चासो व्यक्त गर्नुभएको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो । उहाले सदनलाई सहज ढंगले अघि बढाउन आफुहरुको सकारात्मक पहल हुने प्रतिवद्धता जनाएको बताउनुभयो ।त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदको प्रभावकारीताका साथै महत्वपूर्ण विधेयक अघि बढाउन सत्तारुढ दलले सहयोग गर्नुपर्नेमा सभामुखको जोड रहेको जानकारी दिनुभयो । माघ १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको उहाले बताउनुभयो । उहाले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरुलाई पनि अघि बढाउन पहलकदमी गर्न सभामुखले आग्रह गर्नुभएको जानकारी दिनुभयो । संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक अघि सभामुखले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग सोमबार सामूहिक रुपमा छलफल गर्ने तय भएको छ । त्यस्तै मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाइएको छ । संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन माघ १८ गते १ बजेका लागि आह्वान गरिएको छ ।



























