
काठमाडौं । देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ । विशेषगरी तराई–मधेशमा गर्मी धेरै छ । पश्चिम तराईका मुख्यगरी लुम्बिनी र सुदूरपश्चिममा सुक्खा हुँदा तापक्रम उच्च भएको मौमसविद्ले बताएका छन् । बढ्दो गर्मीले जनजीवन प्रभावित हुन थालेको छ ।खास गरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस पुगेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने विज्ञहरुको भनाइ छ ।तुलनात्मकरुपमा भैरहवा, नेपालगञ्ज र धनगढीमा गर्मी धेरै छ । भैरहवामा पछिल्लोमापन अनुसार अधिकतम तापक्रम ४१ दशमलव ३ डिग्री सेल्सियस, धनगढीमा ४० दशमलव ८ र नेपालगञ्जमा ४० डिग्री सेल्सियस पुगेको छ । अबका तीन दिन पानी पर्ने सम्भावना नरहेकाले अधिकतम तापक्रम अझै बढ्न सक्ने अनुमान छ ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागले आज राती कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मूख्यतया सफा रहने जनाएको छ ।कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।आगामी दिन केही दिन पनि पानी पर्ने सम्भावना नरहेकाले गर्मी झनै बढ्ने पूर्वानुमान मौसमविदको छ ।




























