काठमाडौं- श्रीलंकामा शनिबार ठूलो संख्यामा बिरोध प्रदर्शनकारी राष्ट्रपति गोटाबाया राजपक्षेको घरमा प्रवेश गरे। उनीहरुले राष्ट्रपतिको घरमा तोडफोड गरे।
कतिपयले राष्ट्रपतिको घरमा खाना बनाएर खाए भने स्विमिङ पुलमा प्रदर्शनकारीले रमाइलो गरिरहेको भिडियोहरु सार्वजनिक भएको छ।राष्ट्रपतिको सरकारी आवासमा प्रवेश गरेका प्रदर्शनकारीहरुले राष्ट्रपति भवनमा लाखौं रुपैयाँ फेला पारेको रिपोर्टहरु सार्वजनिक भएका छन्।समाचार एजेन्सी पीटीआईका अनुसार समाजिक सञ्जालमा एक भिडओ आइरहेको छ जसमा राष्ट्रपति आवासमा प्रवेश गरेका प्रदर्शनकारीहरुले नोट गनिरहेको देखिएको छ।श्रीलंकाको मीडिया आउटलेट डेली मिररको रिपोर्ट अनुसार उक्त रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ। प्रशासनले घटनाको जाँच पछि यसबारे जानकारी दिने जनाएको छ।शनिबार राति प्रधानमन्त्री र राष्ट्रपति दुबैले राजीनामा दिने घोषणा गरेका छन् र शान्ति कायम राख्न अपिल गरेका छन्। तर उनीहरु कहाँ छन् भन्नेबारे भने केही खुलाइएको छैन।यसैबीच श्रीलंकामा चार मन्त्रीले राजीनामा दिएका छन्। पछिल्ला दुई दिनमा हरिन फर्नान्डो, मानुषा नानायकारा, बन्दुला गुणवर्देनाले राजीनामा दिएका थिए भने आइतबार लगानी प्रवर्धनमन्त्री धम्मीका पेरेरालेसहित चार मन्त्रीले राजीनामा दिएका छन्। अहिले श्रीलंका सरकारविहीनताको जस्तो अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।