
राष्ट्रपतिको निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ । नेपालको संविधान २०७२ जारी भएपछि राष्ट्रपति पदको यो तेस्रो निर्वाचन हो ।काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा शनिबार बिहान मनोनयन दर्ता हुनेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेभित्र उम्मेदवारी दर्ता हुने जनाएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको सूची शनिबार प्रकाशन गरिने जानकारी दिनुभयो ।राष्ट्रपति पदमा उम्मेदवार हुन वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार सङ्घीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको व्यक्ति राष्ट्रपति पदमा उम्मेदवारी दिन पाउनेछन् । तर निर्वाचित र मनोनयनद्वारा पूर्ति हुने पदमा बहाल रहेका व्यक्ति उम्मेदवार हुन पाउनेछन् । राष्ट्रपति पदमा निर्वाचित भएलगत्तै मनोनीत वा विगतमा निर्वाचित भएको पद रिक्त हुने निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।राष्ट्रपति पदमा मनोनयन दर्ता गर्दा पाँच जना प्रस्तावक र पाँच जना समर्थक हुनुपर्नेछ । राष्ट्रपतिको निर्वाचनमा निर्वाचन अधिकृतले जारी गरेको मतदाता नामावलीमा नाम भएको व्यक्ति प्रस्तावक र समर्थक हुनुपर्नेछ । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाबमोजिम फागुन १४ गते आइतबार उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम छ । उम्मेदवारविरुद्ध परेको उजुरीउपर छानबिन गरी फागुन १५ गते सोमबार निर्वाचन अधिकृतको कार्यालयले जाँचबुझ गरी निर्णय गर्नेछन् । फागुन १६ गते मङ्गलबार उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।नेपालको संविधान २०७२ असोज ३ गते जारी भएपछि २०७२ कात्तिक १२ गते निर्वाचन हुँदा विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित हुनुभयो । २०७४ फागुन २९ गते उहाँ दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।सांसद चौधरीको नाम थपनिर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि प्रकाशन गरेको मतदाता नामावलीमा प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीको नाम थपेको छ । प्रतिनिधि सभा सदस्य चौधरीको नाम थपिएपछि दुवै पदको निर्वाचनमा कुल मतदाताको सङ्ख्या ८८२ पुगेको छ । सङ्घीय संसद्को राष्ट्रिय सभाका ५९, प्रतिनिधि सभाको २७३ र प्रदेश सभाका ५५० जना सदस्य मतदाता हुने छन् ।निर्वाचन अधिकृत पौडेलले निर्वाचन आयोगको निर्णयबमोजिम चौधरीको नाम थपिएको बताउनुभयो । ट्याक्टर आगजनी मुद्दामा पक्राउ परेर निलम्बनमा परेका चौधरीको राष्ट्रपतिबाट सजाय मिनाहा भएपछि निलम्बन फुकुवा भएको थियो ।संसद् सचिवालयले निलम्बन हटेको पत्र आयोगलाई पठाएपछि उहाँको नाम मतदाता नामावलीमा समेटिएको हो । प्रतिनिधि सभा सदस्य चौधरीले समेत मतदाता नामावलीमा नाम थप्न निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुभएको थियो ।निर्वाचन अधिकृतको कार्यालयले मतदाता नामावलीमा दाबी विरोध गर्ने समयभित्र पाँचवटा निवेदन परेको जनाएको छ । चार जनाको नाममा त्रुटि देखिएकाले त्रुटि सच्याएर अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन अधिकृत पौडेलका अनुसार सङ्गीता मण्डल धानुक, दुर्गाकुमारी गुरुङ, सरस्वती खड्का र सञ्जुकुमारी चौधरीको नाममा रहेको त्रुटि सच्याइएको हो ।महोत्तरीमा नेकपा (एमाले)बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं प्रहरीको फरार सूचीमा रहेका लक्ष्मी महतोको नाम समावेश छ । प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम पक्राउ परेपछि मात्रै सदस्य निलम्बन हुने र निलम्बित सदस्यलाई मतदानको अधिकार नरहने व्यवस्था छ । तर महतो निलम्बित नभएकाले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको मतदाता नामावलीमा सूचीकृत छन् ।संसद्मा छलफलमा रहेको प्रतिनिधि सभा नियमावली २०७९ मा भने प्रहरीको फरार सूचीमा रहेका सांसद निलम्बन हुने व्यवस्था छ । राष्ट्रपतिको निर्वाचन अगावै उक्त नियमावली पारित भई कार्यान्वयनमा आए प्रतिनिधि सभा सदस्य महतोको नाम मतदाता नामावलीमा रहने÷नरहने निर्णय गर्ने अधिकार भने निर्वाचन आयोगमा रहनेछ ।




























