
नागरिक अगुवाहरुले देशभर भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डला र नक्सालमा नागरिक अगुवाहरूले भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।नागरिक अगुवासहितको टोलीले माइतीघरमा बिहान ११ बजे प्रदर्शन गरेको थियो भने त्यसपछि नक्सालमा प्रर्दशन गरिएको थियो । नागरिक अगुवासहितको टोलीले शनिवार काठमाडौंमा गरेको प्रदर्शनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपाका सभापति रवि लामिछाने, चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी लगायत पनि सहभागी थिए ।‘भ्रष्टाचारविरुद्ध एक हौँ’ भन्ने अभियानले काठमाडौँको अलावा भैरहवा, पोखरा, सिन्धुली, रुपन्देही, विराटनगरलगायतका स्थानमा प्रदर्शन गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीति र प्रशासन क्षेत्रका उच्च तहका व्यक्ति पक्राउ परेपछि भ्रष्टाचारविरुद्ध आवाज चर्किन थालेका छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणसँगै भ्रष्टाचार काण्डको निष्पक्ष अनुसन्धान र छानबिनका लागि दबाब दिन नागरिक स्तरबाट दबाबमूलक अभियान सुरु भएको हो ।पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा समेत भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा प्रदर्शन गरिएको हो । खाणको निर्वाचन क्षेत्र रुपन्देही–३ हो ।भूटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकहरुले देशभर विरोध प्रदर्शन गरेका हुन् । भुटानी शरणार्थी प्रकरणमा एमाले नेता, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणको संलग्न रहेको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । जसमा पूर्वगृहमन्त्री खाँण अनुसन्धनार्थ थुनामा छन् भने पूर्वउपप्रधानमन्त्री रायमाझी फरार छन् ।काठमाडौंको नक्सालमा शनिबार भएको भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी भएका नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण नक्कली शरणार्थी प्रकरणमाथि निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताए । जनताले खबरदारी गरिरहे भ्रष्टाचारीहरु बच्न नसक्ने उनको भनाइ छ ।उनले भनेका छन्, ‘सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरु छुट्दैनन् । हामीले यो गर्नसके राजनीतिक शुद्धीकरण र सुशासनको दिशामा जान सकिन्छ ।’राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको उदयका कारण अन्य दलहरु दबावमा परेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले गत महिना लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको थियो ।अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नुमा र नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्नुमा आफूहरुको भूमिका रहेको लामिछानेले बताए ।‘केही दलले नाम आएका आफ्ना पदाधिकारीलाई र नेतालाई निष्कासन ग¥यो भन्ने सुन्यौं नि त । हिजोको परिवेश यस्तो थियो त ?’ उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा उदयले घण्टी त बज्यो नि ।’ नक्कली भुटानी शरणार्थी प्रकरणलाई पनि कानुनी मात्र नभई व्यवहारिक रुपमा नै निष्कर्षमा पुर्याउनुपर्नेमा सभापति लामिछानेको जोड छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न उच्च पदस्थ व्यक्तिहरू पक्राउ गरेर सरकारले प्रशंसनीय काम गरेको बताउँदै विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाले अब परिणामुखी निष्कर्ष हुनुपर्ने बताएकी छन् ।तर, यस प्रकरणमा दलका उच्च तहका नेता र उच्च तहका कर्मचारी संलग्न भएकोले कुनै राजनीतिक सौदाबाजी नगर्न र दबाबमा नपर्न अध्यक्ष बास्कोटाको आग्रह छ ।यसका साथै उनले ‘भ्रष्टाचारका अन्य चर्चित काण्डहरू वाइडबडी, यति, ओम्नी, एनसेल, ३३ केजी सुन, सेक्युरिटी प्रिन्टिङ प्रेस, सत्तरी करोड, सीसीटीभी फुटेज, लडाकु शिविर, फोरजी, बालुवाटार जग्गा प्रकरणलगायतको पनि छानबिन गर्न’ माग गरेकी छन् ।




























