प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा सोमबार समिति बैठकले स्वास्थ्य क्षेत्रको सुधार एवं सेवाप्रभावकारीता र गुणस्तर सुधारका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले स्वास्थ्य मन्त्रालयको ओ एण्ड एम सर्वेक्षण अगाडी बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।बैठकले बयलपाटा अस्पताल अछामलाई चालू आर्थिक बर्षमा प्रदेश सरकारबाट बजेट बिनियोजन नभएकाले सञ्चालन व्यवस्थापनमा कठिनाई भएकाले बिषेश अनुदानको व्यवस्था गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिनुभयो ।बैठकले विर अस्पतालमा रहेका आइसियु, सिसियु, भेन्टीलेटर लगाएतका युनिटमा जनशक्ति व्यवस्थापन गरि सेवा सुरु गर्न समेत निर्देशन दिइएको सभापति थापाले बताउनुभयो ।बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि आफु निरन्तर अनुगमनमा गएको जानकारी दिनुभयो । उहाले सेवालाई प्रभावकारी बनाउनका लागि आफुले पहल गरेपनि सरोकारवाला निकायका अधिकारीहरुबाट सहयोग प्राप्त नभएको गुनासो गर्नुभयो । मन्त्री यादवले स्वास्थ्य बिमा कार्यक्रम सन्तोषजनक नदेखिएको भन्दै यसलाई प्रभावकारी बनाइने जानकारी दिनुभयो ।समिति सदस्यहरुले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनका लागि मन्त्रालय गम्भीर हुनुपर्ने, स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति राख्नुपर्ने सुझाव दिएका थिए ।