
अनुयायीहरुलाई बेपत्तादेखि हत्यासम्मको विभिन्न झूटा आरोपमा तपस्वी रामबहादुर बम्जनलाई फसाउने कुनियतले पक्राउ गरिएको भन्दै तामाङ समुदाय आक्रोशित बनेको छ । बोधी श्रवण धर्म संघको नेतृत्वमा सिआईबी कार्यालय घेर्न आएका समरजित तामाङ भन्छन्, हामी तामाङलाई त यो देशले पेल्नुसम्म पेलेको छ । नयाँ धर्म स्थापित हुने खतरा महसुस गरेका क्रिश्चियन र तिनै क्रिश्चियनको प्रचारमा सघाउन खुलेका नक्कली बौद्ध धर्मीले यो खेल रच्दैछन् ।
उनीहरुले किन त्यसो गर्नुपर्ने भन्ने हाम्रो प्रश्नको जवाफमा उनी भन्छन्, अब क्रिश्चियन बनाउने भनेकै हामी जस्ता सिधासोझा तामाङलाई हो । अब हाम्रौ मान्छेले आफ्नै धर्म र लिपिको समेत खोज गरेपछि सबै यता लाग्ने बुझेर उनीहरु आतिएर यो सब गराउँदैछन् तर ति पापीहरु सफल हुँदैनन् । यो तामाङ माथिको आक्रमण हो र यसका विरुद्ध हामी देशैभरिका तामाङहरु एकजुट भएर यिनीहरुसँग भिड्नु पर्छ ।
सिआईबी कार्यालय वरपर बोधी श्रवण धर्म संघको नेतृत्वमा रामबहादुर बम्जनका ठूलो संख्यामा अहिले उनका अनुयायीहरु उपस्थित रहेका छन् । सिआईबी कार्यालय वरपर ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ । प्रहरी प्रयोग गरेर भिडलाई केही पर हटाइएको छ । पूर्वराज्यमन्त्री यशोदा लामा समेत बम्जनको बारेमा गलत तत्वले गलत प्रचार गरेर फसाउन खोजेको भन्दै उनको बचाउमा सिआईबी कार्यालयमा रामबहादुर बम्जनलाई भेट्न पुगेकी छन् ।बम्जनलाई मंगलबार सीआईबीको टोलीले बुढानीलकण्ठस्थित उनको घरबाट पक्राउ गरेको थियो । उनको घरबाट प्रहरीले ३ करोड ३० लाख रुपैयाँभन्दा बढी नगद समेत बरामद गरेको थियो ।



























