काठमाडौं । नेपालमा गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोगको प्रजाति यूजी ९९ को टिटिकेटिटि पहिलोपटक पत्ता लागेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, खुमलटारका वैज्ञानिकहरुले पहिलोपटक यो रोगको प्रजाति नेपालमा पनि देखिएको कुरा पुष्टि गरेका हुन् । उक्त केन्द्रका प्रमुख सुरज बैद्यका अनुसार वैज्ञानिकहरुले गत कार्तिक २२ गते देलखाको दांगढुंगे र खरिढुंगाका क्षेत्रहरुमा गाइवस्तुको आहाराको लागि हरियो घाँसको रुपमा खेती गरिएको गहुँको बोटमा रोगको सर्वेक्षणका क्रममा यो प्रजाति भेटिएको हो । उक्त स्थानका दुईवटा गहुँबारीबाट संकलित नमूनालाई ग्लोबल रष्ट रिसर्च सेन्टर डेन्मार्कको प्रयोगशालामा परीक्षण गर्दा टिटिकेटिटि नामक यूजी ९९ को प्रजाति देखा परेको बताइएको छ । यूजी ९९ को टिटिकेटिटि प्रजातिले अफ्रिकन देशहरुमा गहुँबालीमा करिब ८० प्रतिशत भन्दा बढी क्षति पु¥याएको पाइएको छ । हालसम्म दक्षिण तथा पूर्वी एसियाका देशहरुमा नदेखिएको यो प्रजाति नेपालमा देखिएकोले यो देशभित्र र बाहिर फैलिएमा भविष्यमा यो क्षेत्रका गहुँबालीमा ठूलो क्षति पु¥याउनसक्ने आँकलन नार्कका वैज्ञानिकहरुले गरिरहेका छन् ।गहुँमा लाग्ने रोगहरुमध्ये सिन्दुरे प्रमुख रोग हो । यो तीन प्रकारको हुन्छः तराईमा खैरो, पहाडमा पहेंलो र पहाडमा फाट्टफुट्ट कालो सिन्दुरे रोग देखा पर्दछ । नेपालमा यसअघि कालो सिन्दुरे रोगबारे कुनै तथ्य पत्ता नलागे तापनि करिब २३ वर्षअघि अफ्रिकाको युगाण्डामा यो प्रजातिको व्युत्पत्ति भई गहुँबालीमा ठूलो नोक्सान गरेको थियो । त्यसपछि उक्त प्रजाति इथियोपिया, केन्या, सुडान, इरिट्रया, इजिप्ट हुँदै एसियाका इरान, यमन, ओमन, इराक, जोर्डन लगायतका देशमा फैलिएको देखिन्छ । यूजि ९९ लाई टिटिकेएसके नामबाट चिनिने र हालसम्म यसका १५ किसिमका व्युत्पन्न प्रजाति विकसित भइसकेका जनाइएको छ । ती १५ मध्ये टिटिकेटिटि नेपालमा पनि देखिएको हो । यो रोग पक्सिनिया ग्रामिनी ट्रिटिसी नामक ढुसीबाट लाग्ने र यो ढुसी हावाको माध्यमबाट सयौं किलामिटरसम्म फैलिने कुरा पुष्टि भैसकेकोले यो रोगलाई नेपालमा फैलिन नदिन रोगको वृहत् सर्वेक्षण, रोग अवरोधक जातको छनोट र रोग व्यवस्थापन प्रविधि पत्ता लगाउन अध्ययन अनुसध्ना गर्नु जरुरी रहेको कुरा वैज्ञानिकहरुले औंल्याएका छन् ।केन्द्रका प्रमुख सुरज बैद्यका अनुसार विजय, जिंक गहुँ २, बोलोर्क २०२०, मुनाल, च्याखुरा, डाँफे, वाणगंगा, हिमगंगा, तिलोत्तमा, स्वर्गद्वारी, खुमल शक्ति, आदि जातहरुमा यो प्रजाति अवरोधी क्षमता छ । यी बाहेक अन्य अवरोधी जातहरुको विकास गरी समयमै रोगको व्यवस्थापनमा ध्यान दिनुपर्ने वैज्ञानिकहरुको भनाइ छ । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले नेपालमा क्षेत्रफलको आधारमा धान र मकै पछि गहुँको स्थान रहेकोमा नेपालमा गहुँको क्षेत्रफल ९५ प्रतिशत भन्दा बढी नेपालमै अनुसन्धानबाट विकास गरिएका जातहरुले ढाकेका छन् । विगत ६० वर्षमा गहुँको क्षेत्रफल ७ गुणा, उत्पादन १५ गुण र उत्पादकत्व २ गुणाले बढेको अवस्थामा यस्ता रोगहरुको बेलैमा व्यवस्थापन गर्नसके उत्पादन अँझै बढाउन सकिने कुरा डा. उपाध्यायले बताए