[caption id="attachment_1365" align="alignnone" width="918"] उम्मेद्वार मेयर भोजराज खनाल र उपमेयर सोनी परियार[/caption]पोखरा, सचेत नेपाली पार्टीले पोखरा महानगरपालिकाको मेयरमा भोजराज खनाल र उपमेयरमा सोनी परियारको उम्मेद्वारी चयन गरेको छ ।
यही शनिबार सचेत नेपाली पार्टीको पोखरा स्थित कार्यलयमा बसेको पार्टीको प्रदेश स्तरीय मिटिङबाट शिक्षित युवा व्यवसायी भोजराज खनाललाई पोखरा महानगरपालिकाको मेयरमा र दलित समुदायबाट ब्युटिसियन व्यवसायमा रहेकी सोनी परियारलाई उपमेयरमा उठाउने निर्णय गरेको छ ।
मुलुकमा स्थानीय निर्वाचनको माहोलका बीचमा ठूला पार्टीहरुलाई चुनावी तालमेल मिलाउने रस्साकस्सी छ । साना दलहरु प्नि यस निर्वाचनको बढीभन्दा बढी सदुपयोग गर्न लागेको देखिन्छ । सचेत नेपाली पार्टी कास्की जिल्ला अध्यक्ष अमृता परियारका अनुसार, हामीले पोखराले खोजेको जस्तो मेयर र उपमेयर पाएका छौं । यदि पोखरामा सचेत नेपाली पार्टीले जित्यो भने ३५ दिनबाट नयाँ कुरा सुन्न र देख्न पाइने छ ।[caption id="attachment_1367" align="alignnone" width="927"] सिंह सचेत नेपाली पार्टीको चुनाव चिन्ह[/caption]मेयरका उम्मेद्वार भोजराज खनाल आफ्नो उम्मेद्वारी किन भन्ने प्रश्नको उत्तरमा भन्छन्, ‘अहिले पोखरा नाम मात्रको महानगर हो । यहाँका नागरिकले पाएको सुविधाको आधारमा पोखरा गाउँपालिकाको स्तरको छ । मैले जितें भने म पोखरालाई एउटा व्यवस्थित शहर बनाउने छु जहाँ सुख र शान्तिका सुन्दर पल बिताउन नेपाल भित्रबाट नेपाली र विश्वबाट विदेशी आउने छन् ।
स्थानीय निर्वाचनमा उम्मेद्वार घोषणा पहिलो पटक पोखरा महानगर पालिकाबाट गर्नुको कारण बताउँदै सचेत नेपाली पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाई भन्छन्, ‘यदि ठिक सरकारी नीति र पोखराको मेयरमा इमानदार र भिजनरी युवा आउने हो भने एक्लो पोखराले नेपाललाई पाल्छ । हेर्नुहोस् सिंगापुर पोखरा महानगरपालिका भन्दा त्यही डेढ गुणा मात्र ठूलो छ तर त्यहाँ पर्यटकको ताँत छ जब कि त्यहाँ मानव निर्मित कुरा बाहेक हेर्ने भनेको समुद्र हो तर पोखरा अद्भुत छ । पुराना पार्टीको नेतृत्वले पोखरालाई सुन्दर र सफा बनाएर यहाँका नागरिकको जीवनस्तर सुधार्नमा सहयोगी हुने गौरवशाली बनाउनुको साटो पोखराको दोहन गरे । त्यसैले सचेत नेपाली पार्टीलाई पोखरेली जनताले एक पटक मौका दिनु भयो भने पोखरालाई विश्वको खुशी महानगर बनाउने गरी हामी काम गर्नेछौं ।’
सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको नयाँ वैचारिक दर्शन बोकेर आएको सचेत नेपाली पार्टीको चुनाव चिन्ह सिंह हो ।