
सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्न पहल गरेकोमा सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई धन्यवाद दिएका छन् । भेटमा सहकारी पीडितले सहकारी सम्बन्धी समस्या समाधान चाँडो गर्न सुझाव दिएको गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले जानकारी दिनुभयो ।गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसके बताउनुभयो । सरकारले सहकारी ठगका नाममा रहेको सम्पत्ति र उनीहरुले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने गरी काम गर्ने बताउनुभएको थियो ।गृहमन्त्री लामिछानेले सहकारीको समस्या छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद बैठकमा लिखित रुपमै पत्र पेस गर्नुभएको थियो । मन्त्रिपरिषद् बैठकले उक्त समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने निर्णय गरेको थियो । रासस




























