
बंगलादेश सरकारले नेपाल सरकारलाई एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रदान गरेको छात्रवृत्तिमा चलखेल भएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । .सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनीहरुले चिकित्सा शिक्षा आयोगले सिफारिस गरेको केहि विद्यार्थीको नाम हटाएर अरुकै नाम राखेर पठाएको र यसका कारण बंगलादेशले केहि विद्यार्थीको नाम सूचीबाट हटाएको जनाएका छन् ।बंगलादेश सरकारले नेपाल सरकारलाई सन् २०२४ मा १९ जना एमबीबीएस र ३ जना बीडीएस अध्ययनका लागि छात्रबृत्ति प्रदान गरेको थियो । चिकित्सा शिक्षा आयोगले परीक्षा सञ्चालन गरेर १९ जना एमबीबीएस र ३ जना बीडीएस अध्ययनका लागि सरकारलाई सिफारिस गरेको थियो । चिकित्सा शिक्षा आयोगले सिफारिस गरेर पठाएका नाममध्ये एमबीबीएसतर्फ ९ जना र बीडीएसतर्फ १ जनामा अरुकै नाम हालेर पठाइएको आशंका सांसदहरुको रहेको छ । सांसद तोसिमा कार्कीले मेरिट लिष्टमा छानिएका विद्यार्थीहरुकै नाम पठाएको अवस्थामा बंगलादेशमा नाम परिवर्तन गर्नेको खोजी गर्न शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । लिष्ट परिवर्तन गर्ने कामको जिम्मेवारी सरकारले लिनुपर्ने र त्यसमा भूमिका खेल्नेलाई कारवाही गर्न उहाले माग गर्नुभयो ।त्यस्तै समिति सभापति अम्मर बहादुर थापाले सरकारले सिफारिस गरेका व्यक्तिलाई वंगलादेशले भर्ना दिनुपर्ने र लिष्ट भन्दा बाहिरको व्यक्तिको नाम भए रद्द गर्नुपर्ने बताउनुभयो । यसमा मन्त्रालयले बिशेष चासो दिनुपर्ने उहाले बताउनुभयो ।बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले बंगलादेश पठाएको २२ जनामध्ये १० जनाको प्रक्रिया नपुगेको भन्दै पत्र प्राप्त भएपछि मन्त्रालयले चासो व्यक्त गरेको जानकारी दिनुभयो । बंगलादेशको पत्रपछि शिक्षा मन्त्रालयले २२ जनाको प्रक्रिया पुगेको भन्दै पत्र पठाएको उहाले बताउनुभयो । यस बिषयमा देखिएको समस्या समाधानका लागि आफुले पहलकदमी लिएको भन्दै उहाले आशंका व्यक्त नगर्न जिकिर गर्नुभयो ।उहाले नेपाल सरकारले अवलम्वन गरेको प्रक्रिया भन्दा अन्य प्रक्रिया बंगलादेशको पत्रमा पनि उल्लेख नभएको दावी गर्नुभयो । मन्त्री श्रेष्ठले यस बिषयमा वंगलादेशका राजदूतसंग आफुले छलफल गर्ने जानकारी दिनुभयो ।




























