
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने बताउनुभएको छ ।
प्रेस चौतारी दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले वामपन्थीहरूको बीचमा एकता अब एकादेशको कथा भैसकेकोले पुरानै बाटोबाट अघि बढ्न नसक्ने समेत बताउनुभयो ।उहाले साना राजनीतिक दलहरुले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएकोले कम्युनिस्टमा विचार राख्नेहरु एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक भएको धारणा राख्नुभयो ।दुई प्रमुख दुई दल मिलेर अगाडि बढ्न अठोट गर्दा स्वाभाविक रूपमा मानिसहरूमा प्रश्न उब्जिएको भन्दै पोखरेलले मुलुकको लोकतान्त्रिक मूल्य मान्यताको सवालमा कांग्रेस र एमाले विगतदेखि मिल्दै आएको स्मरण गर्नुभयो । अघिल्लो गठबन्धनमा १० सिटका नेतालाई प्रधानमन्त्री कबुल नगर्दा लगातार गठबन्धन भत्काउने काम भएको उहाँले बताउनुभयो । उहाले स्थायित्व र विकासको लागि बलिया राजनीतिक शक्ति र स्थिरता आवश्यक रहेको बताउनुभयो ।




























