ललितपुर । समाजसेवी बिनय जंग बस्नेतले महालक्ष्मी नगरपालिका वार्ड नं ७ को वडाअध्यक्ष पदको लागि मनोनय दर्ता गराएका छन् । बस्नेतले कुनै दलबाट नभई सो पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि बस्नेतले आफू कुनै पार्टीको नभएको र कुनै पार्टीको कार्यकर्ता पनि नभएको उल्लेख गर्दै देश बनाउने अभियान आफ्नै ठाउँबाट प्रारम्भ गर्न लागेको बताएका छन् ।स्थानीय समस्याहरुमा उल्लेख्य मात्रामा सहयोगको पहल गर्दै आइरहेका बस्नेतलाई स्थानीय जनताले उम्मेदवारी नै दिन सल्लाह, सुझाव र अनुरोध गर्न थालेपछि चुनावी मैदानमा होमिएको बताए। ‘सर्धै उस्तै राजनीतिक दल, एउटै विचार र उस्तै अनुहार र कार्यशैलीले जनता आजित भइसकेकोले स्वतन्त्र रुपमा जनताको माझमा उभिएको हो ।’ बस्नेतले भनेमनोनयन दर्ता पछि संक्षिप्त कुराकानी गर्दै उनले भने ‘अब गाउँ, अनि देश परिवर्तन विकास र निकासका लागि नयाँ रोजौं, नयाँ खोजौ’ अब राजनैतिक परिवर्तन ल्याउने उचित समय आएको छ, परिवर्तन सम्भब छ । बहुदल आएदेखि सधैं उही दल, उही पार्टी र एउटै प्रतिनिधि मात्र आइरहेकोले परिवर्तनका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएर नयाँ शुरुवात गर्न खोजेको हो ।’लामो समयदेखि सामाजिक कर्ममा होमिएका बस्नेतले हालसम्म करिव ५ सय ६० भन्दा बढी वेवारिसे शवको सद्गद गरिसकेका छन् । सबैको मन जित्ने काम गर्दै आएका उनी बेवारिसेहरूको अभिभावक मानिने बस्नेत वडाध्यक्ष पदमा मनोनय दर्ता गराएसँगै समाजको अगुवा बन्ने अभियानमा होमिइसकेका छन् । हालसम्म सामाजिक कर्म गर्दा उनले आफ्नो अंशमा परेको जग्गा बेचेर बेवारिसे शवको सद्गत गरिरहेका छन् । सडकमा भेटिने वेवारिसे बा आमा राख्नका लागि आश्रयस्थल निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको उनै बस्नेत अब आफ्नै गाउँ टोलको रुपान्तरण गर्नका लागि राजनीतिक प्रतिष्पर्धामा समेत उत्रिएका छन् ।निरन्तर समाजको लागि खटिइरहेका बस्नेतले स्थानीय क्षेत्रमा खानेपानी, सडक, सामाजिक सेवाका कार्यहरुमा योगदान दिंदै आएपनि ठोस र निर्णायक परिणाम दिने गरी कार्यगर्न जनप्रतिनिधि नै बन्नुपर्ने आवश्यकता महसुस गरेर वडाध्यक्ष बन्ने निश्चय गरेका हुन् । स्थानीय क्षेत्रमा दैनिक भोग्नु परेको, खानेपनीको समस्या, सडक, ढल, फोहोरमैला, प्रशासनिक झमेला, कनिका छरेजस्तै बजेट छर्ने परिपाटी जस्ता समस्यालाई समाधान गर्ने योजना उनको छ । स्थानीय जनताको चाहना र आवश्यकतालाई राम्ररी बुझेर जनउत्तरदायि जनप्रतिनिधिको रुपमा कार्य गर्ने लक्ष्य लिएका बस्नेतको स्वतन्त्र उम्मेदवारीले यतिबेला स्थानीय क्षेत्रमा चर्चा पाएको छ ।