काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाबाट सुनिता डङ्गोलले स्वतन्त्र रूपमा मेयरको उम्मेदवारी दिने घाेषणा गरेकी थिइन् ।
आफ्नो ८ खम्बे विकास मोडेल भएको घोषणा पत्र सार्वजनिक गर्दै स्वतन्त्र रूपमा मेयर पदमा उनले उम्मेदवार घोषणा गरेकी हुन् । यति मात्रै हैन उनले आफू स्वतन्त्रबाट उम्मेदवारी दिने भनेपछि विभिन्न राष्ट्रियस्तरका मिडियामा पनि अन्तरवार्ता दिइन्। तर, उम्मेदवारी दिने एक दिन अगाडि भने एकाएक नेकपा एमालेको तर्फबाट उप मेयरको नाममा डङ्गोलको नाम सार्वजनिक भयो ।महानगरको मेयरका लागि सार्वजनिक गरेको घोषणा पत्र पहिले पनि अहिले पनि उनको सामाजिक सञ्जाल फेसबुकमा ‘पिन’ गरेर राखेकी छन् । तर आफैले स्वतन्त्र उम्मेदवारी दिने घाेषणा गरेकी डङ्गोलले अहिले भने स्वतन्त्र उम्मेदवार देखेर दया लाग्ने अभिव्यक्ति दिएकी छन् । उनले एक सार्वजनिक कार्यक्रममा स्वतन्त्र उम्मेदवारकाे माया लाग्ने अभिव्यक्ति दिएकी छन् । ‘देशमा नै बहुदलीय प्रणाली छ । अनि फेरि के आवाज सुनिन्छ भने हैन व्यक्ति आउनुपर्छ, स्वतन्त्र आउनुपर्छ । यो सुनिरहँदा, आवाज गुन्जिरहँदा यो आवाज उचालिरहनेहरुलाई देख्दा दया लागेर आउँछ, माया लाग्छ’ उनले आफ्नो कुरा प्रस्ट्याउँदै भनिन्, ‘देशको प्रणाली नै नबुझ्ने ? अरे बाबा, अरू धेरै कुरा बुझ्नु परेन ? सरकारमा आउने सपना देख्छौ भने सरकारको प्रणाली पनि बुझ्नु पर्यो नि । केही नभए पनि हाम्रो सङ्घीय गणतन्त्रको मर्म त बुझेर आइदिनुस् ।’