
विराटनगर । नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।घरमा काम गर्न राखेकी नाबालिगलाई करणी गरेको आरोपमा मंसिरमा शिवाकोटी पक्राउ परेका थिए । तर, उनी हिरासतमा नबसी अस्पताल बस्दै आएका थिए ।उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको संयुक्त इजलासले बिहीबार उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।एमालेबाट निर्वाचित पूर्वमेयर शिवाकोटीलाई झापा जिल्ला अदालतले २०८१ पुस २२ मा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । अस्वस्थताको कारण देखाउँदै उनी बीएण्डसी अस्पताल भर्ना भएका थिए ।अदालतको आदेशमा ‘प्रतिवादीले पीडितलाई आफ्नो घरमा वर्षैदेखि पालनपोषण गरी विद्यालयमा अध्ययन गराई आएकोमा विगत ३ वर्षदेखि प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गर्दै आएको भन्ने निजको हजुरआमाको किटानी जाहेरी रहेको तर सो भन्दा अगावै यी पीडितको हजुरआमासँग निजको पटक पटक फोनमा सम्पर्क भएको र भेट्न समेत आउने गरेको भनी पीडितको मौकाको कागज रहेकोमा सो तथ्य आफ्नो हजुरआमालाई भनेको भनी निजको कागजबाट खुल्न आएको पाइँदैन’, उल्लेख छ ।




























