एजेन्सी । अमेरिकाले लामै समयका लागि पूर्वी युरोपमा एक लाख सैनिकहरू तैनाथ गर्ने योजना बनाएको सीएनएनले विभिन्न अधिकारीहरूलाई उद्धृत गर्दै खबर दिएको छ ।
नेटोमाथि रुसबाट जोखिम भएमा वा फिनल्यान्ड र स्विडनमाथि खतरा भएमा अमेरिकाले सैनिकको संख्या बढ्न पनि सक्छ ।नेटोले पूर्वी युरोपमा थप सैन्य अभ्यास गरेमा वा सुरक्षा वातावरण परिवर्तन भएमा अमेरिका थप सैनिक तैनाथ गर्ने वा सैन्य अड्डा बनाउने सम्भावना रहेको अधिकारीहरूले बताए ।स्विडन र फिनल्यान्डले नेटोमा प्रवेशका लागि निवेदन दिएको भए पनि उनीहरूको रक्षाका लागि अमेरिकाले थप सैनिक तैनाथ गर्ने प्रतिबद्धता व्यक्त गरेको छैन । तर ती देशको सीमानजिक रुसले हतियार ल्याएमा अमेरिकाले थप सैनिक तैनाथी गर्न सक्छ । ती दुई देशको निवेदनमाथि विचार गरिँदै गर्दा नेटोका केही सदस्य मुलुकहरूले आधिकारिक संरचना बाहिर रहेर उनीहरूलाई सहयोग गर्न सक्छन् ।
गत मार्च महिनामा अमेरिकाले युरोपमा आफ्नो सैनिक संख्या बढाएर एक लाख पुर्याएको थियो । अमेरिकी सेनाको युरोपीयन कमान्डले थप तैनाथीका लागि रुसी आक्रामकतालाई दोषी ठहर गरेको थियो ।तीमध्ये अधिकांश सैनिक पोल्यान्ड र जर्मनीमा छन् । त्यसपछिको संख्या इटली र बेलायतमा छ । युक्रेन द्वन्द्व चर्किरहेको बेलामा बाल्टिक मुलुकहरूले अमेरिकालाई थप सैनिक तैनाथी गर्न भनिरहेका छन् ।