
काठमाडौँ । आज विश्व निमोनिया दिवस मनाइँदैछ । निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि नोभेम्बर १२ तारिकका दिन यो दिवस मनाउन सुरु गरिएको हो । यस बर्षको विश्व निमोनिया दिवसको नारा 'हरेक सासको सुरक्षा: सबैका लागि बलियो फोक्सो' भन्ने रहेको छ ।विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ ।‘बालबालिका बचाऔँ सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ आज देशका विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना हुने बताइएको छ ।निमोनिया बालबालिकामा हुने मृत्युका प्रमुख कारणमध्ये एक हो । तर, निमोनियाको रोकथाम र उपचार भने पक्का छ । स्वास्थ्य विशेषज्ञहरुबाट थुप्रै रोकथामका प्रयासहरूले यस रोगको बोझ त घटाउँदै छन् तर पनि यस रोगबाट उत्पन्न हुने समस्याहरुको पूर्ण रुपमा रोकथाम गर्न अझ धेरै काम आवश्यक रहेको स्वास्थ्य विशेषज्ञहरु बताउँछन् ।२०२१ को आँकडा अनुसार विश्वभर निमोनियाबाट एक बर्षमा २२ लाखको ज्यान जाने गरेको छ, जसमा ५ लाख बालबालिका रहेका छन् भने एक लाख ५२ हजार नयाँ जन्मिएका बच्चा रहेका छन् ।




























