काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा सरकारले व्यापक धाँधली गरेको बताएका छन्।सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका ओलीले बिहीबारको संसद बैठकमा चुनाव निष्पक्ष नभएको बताएका हुन्।‘नीति तथा कार्यक्रमको पहिलो बुँदामै चुनाव निष्पक्ष र धाँधलीरहित तरिकाले भएको भनिएको छ,’ ओलीले भने,‘स्वच्छ तरिकाले चुनाव भएको भए आज १४ दिनसम्म किन परिणाम आएको छैन?’उनले चुनावभन्दा पहिला, मतदानका बेला र मतगणनाका बेला पनि एमाले नेता/कार्यकर्तामाथि आक्रमण भएको तर्क गरे।‘रूकुम, ताप्लेजुङ, हुम्लामा मतदाताको हत्या भएको छ। एमालेका प्रतिनिधिलाई छेक्ने, कुट्ने, घेर्ने काम भएका छन्,’ ओलीले भने,‘सत्ता पक्षले बुथ कब्जा गरेको छ। प्रहरी निरिह बनेको छ। म दाबाका साथ भन्छु, कुनै पनि ठाउँमा प्रतिपक्षीका कारण मतदान प्रभावित भएको छैन।’सत्ता गठबन्धनले घोषित रूपमै एमालेलाई धुलो चटाउने र पत्तासाप गर्ने नीति लिएकाले चुनाव पनि त्यही अनुसार भएको उनले बताए।‘एमालेलाई सिध्याइदिने नीति लिएर गरिएको चुनाव हो। नेताहरूले भाषण नै गर्नुभएको छ। जसरी पनि जित्नुपर्छ भनेर त गीतै बनाएर गाउनुभएको छ,’ ओलीले भने।बिहीबार बिहानसम्म ७४९ पालिकाको मतपरिणाम आइसकेको छ भने काठमाडौं महानगरपालिका, तिलोत्तमा, त्रियुगा र बुढीगंगा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ।