
गगन थापा लामो समयदेखि एक खास रिदममा राजनीति गर्दै आएका व्यक्ति हुन् । उनको तुरुन्त लोकप्रिय हुने नाराभन्दा संरचनागत सुधारका एजेन्डा अगाडि सार्ने शैली बौद्धिकले समेत रुचाएको पाइन्छ। उनी एजेन्डा–आधारित राजनीतिलाई अघि बढाइरहेका छन् ।उनको प्रस्तुतिमा डिजिटल गभर्नेन्स, पारदर्शिता, डाटा–आधारित निर्णय, सेवा प्रवाहको सरलीकरण जस्ता विषयहरू छन्। यो सामान्य भाषणको कुरा होइन बरु यो त राज्य सञ्चालनको आधुनिक मोडेल हो।
डिजिटल गभर्नेन्स भनेको केवल अनलाइन फाराम मात्र होइन बरु यो त भ्रष्टाचार घटाउने ट्र्याकिङ सिस्टम, बजेट र खर्चको सार्वजनिक निगरानी, नागरिक सेवामा समय–सीमा र उत्तरदायित्व बढी हो । नेपालजस्तो ढिलो र अपारदर्शी प्रशासन भएको देशमा यो संरचनात्मक हस्तक्षेप हो।गगन थापाको राजनीतिक शैली भावनात्मक उक्साहटभन्दा तर्क, तथ्य र प्रस्तुतिकरणको अभ्यास देखिन्छ। आन्तरिक पार्टी राजनीतिमा पनि उनले जोखिम लिएर आफ्ना मत सार्वजनिक गरे र त्यसलाई गरेर देखाए । पार्टीको गुट र भ्रष्ट संरचना विशेष अधिवेसनको डोजर चलाएर भत्काइदिए । यो नेतृत्वको क्षमता हो।बिर्सन नहुने कुरा गगनको भाषणमा योजना, चरणबद्ध कार्यान्वयन र लक्ष्य निर्धारण देखिन्छ। राजनीतिमा केवल आलोचना होइन, कार्यान्वयनको रूपरेखा दिन सक्ने नेता दुर्लभ हुन्छन्, नेपालका लागि गगन त्यस्तै दुर्लभ नेता हुन् । तर अन्तिम प्रश्न, विश्वास व्यक्तिमा होइन, निरन्तरताले बन्छ। यदि एजेन्डा भाषणमै सीमित रहे भने त्यो अर्को निराशा हुन्छ। तर यदि उनले प्रस्तुत गरेको डिजिटल गभर्नेन्स मार्फत पारदर्शिता र संरचनागत सुधार व्यवहारमा उतार्न सके भने त्यो फरक राजनीति हुनेछ।गगन थापा शैली मात्र होइनन् कि सम्भावना हुन्, यो निर्णय अब मतदाताको मूल्याङ्कनमा निर्भर छ। जेहोस उनको निर्वाचन क्षेत्रका जनता उत्साहप्रद रुपमा जम्मा भएर गगनलाई उत्साहित गरिरहेको देखिन्छ ।




























