काठमाडौं । काठमाडौं महानगरको उपमेयरमा निर्वाचित भएकी सुनिता डंगोलले सन् २०११ की मिस नेवा हुन् । उनले रञ्जना लिपिलाई विश्वभर फैलाउने अभियन्ताको रूपमा पनि काम गरेकी छन् । लिपि क्विनको नामले पनि चिनिने डंगोलले संसारका एक दर्जनभन्दा बढी मुलुक भ्रमण गरिसकेकी छिन् । उनले सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी छिन् ।प्रतिभाशाली युवा नेतृ उनले सुरुमा काठमाडौं महानगरको मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । मेयरको आकांक्षीका रुपमा उनले प्रचारप्रसार पनि तीव्र पारेकी थिइन् ।तर एमाले अध्यक्ष केपी ओलीले उनको एउटा अन्तर्वार्ता सुनेपछि भेट्न बोलाएका थिए । त्यसपछि उनलाई नेकपा एमालेबाट उपमेयरमा उठ्न प्रस्ताव गरिएको थियो ।विगतमा काठमाडौंका निवर्तमान मेयर विद्यासुन्दर शाक्यको टिममा विज्ञका रूपमा पनि काम गरिसकेकी उनी अन्तिम समयमा नेकपा एमालेबाट उपमेयरको उम्मेदवार बनिन् ।नेपाल भाषा विज्ञको रूपमा टेलिभिजनमा समेत काम गरेकी उनी वाक्कलामा पनि पोख्त छिन् । आफ्नो प्रस्तुतिका कारण पनि उनी युवा पुस्ताबीच चर्चाको पात्र बनेकी छिन् ।नेकपा एमालेले काठमाडौं उपत्यकामा स्वतन्त्र र युवा उम्मेदवारप्रति मतदाताको आकर्षणलाई ध्यान दिएर उनलाई उपमेयरको उम्मेदवार बनाएको अनुमान गरिएको थियो । हुन पनि उनी ठूलो मतअन्तरले उपमेयरमा विजयी भइन् ।उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।