
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै साम्पाङले सत्तारुढ दलले संसदलाई मनपरी ढंगले सञ्चालन गरिरहेको आरोप लगाए ।उनले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनबाट निरन्तर टाढा रहेको भन्दै असन्तुष्टि व्यक्त गरे । “प्रधानमन्त्री कहिल्यै नआउने, प्रधानमन्त्रीले टेबल गर्नुपर्ने विषय अरूलाई पठाउने भइरहेको छ,” उनले भने, “सत्तारुढ दलले संसद मनखुशी चलाइरहेको छ । सांसदहरूलाई ठेलीका ठेली किताब दिएर भोलि पढेर आउनू भनेजस्तो गरिएको छ ।”साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि पर्याप्त समय नदिएको गुनासो समेत गरे । उनका अनुसार गम्भीर बहस हुनुपर्ने विषयलाई औपचारिकतामा सीमित गरिएको छ ।त्यस्तै, उनले श्रम संस्कृति पार्टीलाई कसैले पनि हेप्न नसक्ने दाबी गर्दै आफ्नो पार्टी संसदमा सशक्त रूपमा प्रस्तुत हुने बताए ।



























