
काठमाडौं ।लालीबजारको कलाकार तथा निर्माण टिम दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न मोफसल यात्रामा निस्किने भएको छ । वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको फिल्मको टोलीले आजदेखि सुर्खेतबाट यात्रा सुरु गर्दै नेपालगञ्जसहित अन्य सहरमा पनि दर्शकसँग साक्षात्कार गर्ने जनाएको छ ।मोफसल यात्रामा अभिनेत्री Swastima Khadka, अभिनेता Rabindra Singh Baniya, निर्देशक Yam Thapa तथा कार्यकारी निर्माता एवं पटकथाकार Pradeep Bhattarai लगायत सहभागी हुनेछन् ।फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ । विशेषगरी परिवारसहित हलमा पुग्ने दर्शकको संख्या बढ्दै गएको र वादी समुदायका अभियन्ताले समेत सामाजिक सञ्जालमार्फत फिल्मको प्रशंसा गरिरहेको बताइएको छ ।कार्यकारी निर्माता प्रदीप भट्टराईका अनुसार प्रदर्शनको पहिलो दिनदेखि नै काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट भइरहेको छ । अब मोफसलका दर्शकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको प्रतिक्रिया बुझ्ने उद्देश्यले टोली बाहिरिन लागेको उनले बताए ।उनले दर्शकको मायाप्रति आभार व्यक्त गर्दै मोफसलका विभिन्न सहरमा पुगेर सरप्राइज भेटघाट गरिने जानकारी दिए ।फिल्मले आमाको महत्व, छोरीप्रतिको जिम्मेवारी र एकल आमाको संघर्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै दर्शक भावुक बनेको प्रतिक्रिया दिएका छन् ।फिल्ममार्फत अभिनेता विशाल देवकोटा र कन्टेन्ट क्रिएटर प्रशंसा सुवेदीले डेब्यु गरेका छन् । प्रशंसाले फिल्ममा स्वस्तिमा खड्काको छोरीको भूमिका निर्वाह गरेकी छन् ।निर्देशक यम थापाको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराललगायत कलाकारहरूको अभिनय रहेको छ ।



























