काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेट सत्ता गठवन्धनको चुनावी घोषणापत्र जस्तो रहेको बताएका छन् ।संसदमा प्रस्तुत बजेटमाथिको छलफलमा सहभागी हुँदै मंगलबार उनले बजेट आउँदो चुनावलाई लक्षित गरेर ल्याइएको बताए । उनले आउँदो मंसिरसम्म समय रहेको सरकारले नयाँ निर्वाचित सरकारले जसरी दीर्घकालिन खालको बजेट ल्याएको बताए ।पौडेलले बजेटले प्रदेश र स्थानीय तहका अधिकार कटौती गरेको, भन्दै साना पूर्वाधार आयोजना प्रदेश र स्थानीय तहमा सार्ने बजेटमा घोषणा गर्नुको अन्तर्य अर्कै रहेको बताए ।उनले भने, ‘साना योजना केन्द्रले छनोट गर्ने र ती योजनाको सीमित, सशर्त अनुदान प्रदेश र स्थानीय तहमा पठाउने कुरा रहेछ, । यसबाट आफ्नो योजना आफैले छनोट गर्ने प्रदेश र स्थानीय तहको अधिकार कटौती गरिएको छ । यताबाट लिस्ट पठाउने र त्यसका निम्ती सीमित सशर्त अनुदान पठाउने रहेछ । यो योजना हो, यो बजेट हो कार्यान्वयन गर्नू भनेर निर्देश गरिने रहेछ । यो संघीयता, वित्तीय संघीयताका अवधारण र मान्यताको ठाडो बर्खिलाप छ । यो संघीयताविरोधी कदम हो ।’पौडेलले अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट सपनाहरूले भरिएको बताउँदै बजेटका प्रत्येक पाना र प्याराग्राफमा नारा मात्रै रहेको बजेट चिप्ले किरा जस्तै रहेको बताए । उनले बजेट नाराको भीडमा अल्मलिएको बताउँदै हरेक पेज र प्याराग्राफमा नारा रहेको बताए ।पौडेलले अर्थतन्त्र जटिल अवस्थामा रहेकोमा त्यसलाई उपेक्षा गरेर वितरणमुखी बजेट ल्याएको बताउँदै यो बजेट कार्यान्वयन हुन नसक्ने बताए ।