काठमाडाैँ- नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेकाे ब्राण्ड भएकाे दावी गरेका छन्।प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागी हुँदै उनले यस्ताे दावी गरेका हुन्।
उनले भने,‘वृद्धभत्ता एमालेकाे ब्राण्डजस्तै हाे। तपाईं उमेर ५८ होइन, ६८ पुर्याउनोस्। एमालेलाई नै ताली ठोक्छन्।’यसैगरी, उनले मिर्गाैला पीडितलाई डायलासिस निःशुल्क गर्नुपर्ने व्यवस्था गर्नुपर्ने पनि बताएका छन्।
‘क्यान्सर, मिर्गौला रोगीलाई पाँँच हजार दिन्छु भन्नु भएको छ। यो राम्रै हो। तर, अहिले अस्पतालमा डायलासिस गर्ने मेसिन नै छैन। ६ महिना, एक वर्ष पालो कुर्नुपर्ने अवस्था छ। त्यो पाँच हजार लिनुअघि नै मृत्यु भइसक्छ। अहिले सम्पूर्णको डायलासिस निःशुल्क गर्छु र मेसिन पनि किन्छु भन्नुपर्थ्यो’, उनले भने।