
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतमा पार्टीको वैधानिकतासम्बन्धी मुद्दा विचाराधीन रहेकाले आगामी महाधिवेशनसहित पार्टीका सम्पूर्ण निर्णय तत्कालका लागि यथास्थितिमा राख्न माग गरेको छ।नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समिति संयोजक डा. शशांक कोइरालाले पार्टी सभापति गगनकुमार थापालाई पत्र लेख्दै सर्वोच्च अदालतबाट मुद्दा पुनरावलोकनका लागि ‘निस्सा’ प्रदान भइसकेकाले अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका सांगठनिक तथा नीतिगत गतिविधि अघि नबढाउन आग्रह गरेका हुन्।पत्रमा अदालतबाट मुद्दाको अन्तिम किनारा नलागेसम्म पार्टीको वर्तमान संरचना र नेतृत्वको वैधानिकतामाथि कानुनी प्रश्न कायम रहेको उल्लेख गरिएको छ।संस्थापनइतर पक्षले विशेष महाधिवेशनसँग सम्बन्धित सबै सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरेको छ। त्यस्तै, अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका तर्फबाट दीर्घकालीन प्रभाव पार्ने राजनीतिक, सांगठनिक, नीतिगत तथा आर्थिक निर्णय नगर्न पनि आग्रह गरिएको छ।पार्टीभित्र गम्भीर कानुनी तथा नीतिगत संक्रमणको अवस्था रहेकाले थप जटिलता र कानुनी संकट उत्पन्न हुन नदिन आफूहरूले यस्तो आग्रह गरेको कोइरालाको पत्रमा उल्लेख छ।अदालतको निर्णयविपरीत हुने कुनै गतिविधि भएमा त्यसबाट उत्पन्न हुने कानुनी जटिलताको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने चेतावनीसमेत संस्थापनइतर पक्षले दिएको छ।साथै, सर्वोच्च अदालतको गरिमा र कानुनी प्रक्रियालाई पूर्ण रूपमा सम्मान गर्दै सहयोग गर्न पनि पार्टी नेतृत्वसँग आग्रह गरिएको छ।


























