
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा सङ्ग्रहित ऐतिहासिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक दस्ताबेजको संरक्षण र प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।मंगलबार साँझ रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले अभिलेखालयमा रहेका दस्ताबेज नेपालका अमूल्य सम्पत्ति भएकाले तिनलाई भावी पुस्ताका लागि सुरक्षित राख्नुपर्नेमा जोड दिए ।उनले अभिलेखालयलाई अध्येता, विद्यार्थी तथा इतिहासमा रुचि राख्नेहरूका लागि महत्वपूर्ण ज्ञान केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । साथै, ऐतिहासिक दस्ताबेज संरक्षणमा अभिलेखालयका कर्मचारीले गरिरहेको प्रयासको प्रशंसा गर्दै यसको संरक्षणमा सबै पक्षले सहकार्य गर्नुपर्ने धारणा राखे ।अवलोकनका क्रममा अर्थमन्त्री वाग्लेले ऐतिहासिक शासन व्यवस्थाका आर्थिक तथा राजनीतिक गतिविधिसँग सम्बन्धित सङ्ग्रहबारे जानकारी लिनुका साथै अभिलेखालयले प्राप्त गर्दै आएको बजेट तथा कार्यक्रम प्रभावकारी भए–नभएको विषयमा कर्मचारीसँग छलफल गरेका थिए ।पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले भने स्रोत तथा साधनको अभावका कारण ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक दस्ताबेज संरक्षणमा चुनौती रहेको जानकारी गराइन् ।उनले सुरक्षित र सुविधा सम्पन्न भौतिक पूर्वाधारको अभावमा अभिलेखहरूको सुरक्षा कठिन बनेको बताउँदै नयाँ स्थानमा जग्गासहितको भवन निर्माण, अभिलेख संरक्षणमा आधुनिक प्रविधिको प्रयोग तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि बजेटमार्फत लगानी गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराइन् ।प्रधानाङ्गले अभिलेखालयको महत्त्वबारे अध्येता, विद्यार्थी र सरकारसमेतलाई पर्याप्त रूपमा जानकारी गराउन स्रोतको अभाव बाधक बनेको बताइन् ।


























