
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको हो।विश्वासको मत प्राप्त गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँट टुंग्याउने सरकारको तयारी रहेको बताइएको छ।नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेकै हातमा रहने र आचार्यलाई मुख्यमन्त्रीका रूपमा निरन्तरता दिने निर्णय भइसकेको छ।हाल लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नौ मन्त्रालय छन्। सरकारमा एमालेका पाँच र जनता समाजवादी पार्टी नेपालका दुई मन्त्री सहभागी छन्।८३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ। एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्। सभामुखले मतदान गर्न नपाउने भएकाले सरकारलाई विश्वासको मत प्राप्त गर्न थप दलको समर्थन आवश्यक पर्ने देखिएको छ।


























