काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो ।युवाको भूमिका र योगदानको महत्त्वलाई उजागर गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।दिवसको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा युवाकेन्द्रित बहस र पैरवीलाई प्राथमिकता दिनुका साथै नीति निर्माण तथा कार्यान्वयनमा युवाको सहभागिता बढाउनु हो । यससँगै युवा साझेदारी तथा लगानी अभिवृद्धि, युवामैत्री शासन प्रवर्द्धन र युवाकेन्द्रित सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच सहकार्य विस्तारमा पनि दिवसले जोड दिँदै आएको छ ।दिवसका अवसरमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसम्बन्धी प्रदर्शनीसँगै नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवर्द्धन विषयमा उच्चस्तरीय प्यानल छलफल हुँदैछ ।यस्तै, बिहान भृकुटीमण्डपदेखि कमलादीसम्म युवा जागरण दौड आयोजना गरिएको छ । दिवसकै अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न छ वटा व्यवसायलाई पुरस्कृत गरिँदैछ भने सातै प्रदेशका युवा उद्यमीलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।अन्तर्राष्ट्रिय युवा दिवसले सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता र पारस्परिकता प्रवर्द्धन गर्दै युवाको सक्रिय सहभागितामार्फत समावेशी र समृद्ध समाज निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गर्ने अवसर प्रदान गर्दै आएको छ ।



























