
नुवाकोट — रसुवाबाट आएको भीषण बाढीले नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीले त्रिशूली बजार आसपासका करिब ६० घर तथा नदीमा रहेका दुईवटा पक्की पुल बगाएको छ।बाढीको पूर्वसूचना समयमै प्राप्त भएपछि त्रिशूली नदी आसपासका स्थानीय बासिन्दा सुरक्षित स्थानमा सर्न सफल भएका थिए। त्यसका कारण हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिएका छन्।बाढीका कारण भौतिक संरचनामा भने व्यापक क्षति पुगेको छ। त्रिशूली र देवीघाट जलविद्युत् आयोजनामा समेत बाढीले ठूलो क्षति पुर्याएको छ।यसैगरी, २५ मेगावाट क्षमताको सौर्य विद्युत् प्लान्टका तीनवटा ब्लकसहित सबस्टेसनसमेत बाढीले बगाएको जनाइएको छ। बाढीका कारण ऊर्जा उत्पादन तथा आपूर्ति संरचनामा ठूलो असर परेको छ।



























