
काठमाडौं । नेकपा एमालेका सचेतक ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले विना कसुर र विना अभियोग पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले लोकतान्त्रिक व्यवस्थामा कोही पनि कानुनभन्दा माथि नहुने उल्लेख गर्दै कसैले कानुन उल्लङ्घन गरेको भए तथ्य र प्रमाणका आधारमा अभियोग लगाएर कानुनी दायरामा ल्याउनुपर्ने बताए ।सरकारले पूर्वाग्रह, प्रतिशोध वा विरोध गरेको आधारमा व्यक्तिलाई तर्साउने, धम्काउने र पक्राउ गर्ने काम गरिरहेको आरोप लगाउँदै उनले यस्तो प्रवृत्ति कानुनी राज्य र विधिको शासनको बर्खिलाप भएको बताए ।उनले भने, ‘सरकारले पूर्वाग्रह, प्रतिशोध तथा विरोध गरेका आधारमा व्यक्तिहरूलाई तर्साउने, धम्काउने र पक्राउ गर्ने काम गरिरहेको छ। यस्तो कार्य कानुनी राज्य र विधिको शासनको बर्खिलाप छ।’महरले सरकार गठन भएयता यस्ता गतिविधि शृङ्खलाबद्ध रूपमा भइरहेको आरोप लगाए । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको घटनाको समेत स्मरण गरे ।खतरा रहेको भनिएका व्यक्तिलाई सुरक्षा दिनुको सट्टा पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरिएको भन्दै उनले सरकारको कदमप्रति आपत्ति जनाए ।जबराको पक्राउलाई लिएर उनले सरकारको कार्यशैलीलाई ‘राज्य आतंक, गुन्डागर्दी, निरंकुशता र स्वेच्छाचारिता’को नमुनाका रूपमा चित्रण गर्दै त्यस्ता गतिविधिको भत्र्सना गरे ।




























