काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउन प्रधानमन्त्रीले २ मन्त्रालय छाड्न आग्रह गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकार छाड्ने तयारी शुरू गरेको छ ।जसपा अध्यक्ष उपेन्द्र यादवले यसबारे पार्टीका नेताहरूसँग छलफल गरेका छन् ।आइतवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भएको छलफलमा उपेन्द्रले २ मन्त्री लिएर सरकारमा नबस्ने बताएका थिए ।‘२ जनालाई फिर्ता गर्न सम्भव छैन, बरु सरकारबाटै बाहिरिन तयार छौं,’ उपेन्द्रको भनाइ उदृत गर्दै एक सांसदले लोकान्तरसँग भने ।
शनिवार प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटेर २ मन्त्रालयसहित सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । देउवाले २ मन्त्रालय र प्रतिनिधि सभाको उपसभामुख पद लिन आग्रह गरेका थिए ।लोसपाका नेताहरूसँग देउवाले मंगलवार फेरि छलफल गर्ने बताएका छन् ।आफ्नो भागमा रहेका २ मन्त्रालय खोसेर लोसपालाई सरकारमा सहभागी गराउने तयारी भए पनि जसपा सशंकित भएको छ । ‘हाम्रो अध्यक्षले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको विषयलाई लिएर धेरै आशंका गरियो, महन्थजीलाई साथ लिन खोजेको भए हामीहरू सरकार छाड्न तयार छौं,’ ती सांसदले भने ।गठबन्धनमा इमान्दारीपूर्वक तालमेल नभएकाले यसको पनि समीक्षा गर्नुपर्ने आवाज पार्टीभित्र उठिरहेको जसपाका एक प्रभावशाली नेताले बताए ।नेकपा एसले सरकारमा सहभागी मन्त्री हेरफेरको गृहकार्य गरेपछि जसपाभित्र पनि मन्त्री फेर्न दबाब बढेको थियो । जसपाले लिएका ४ मन्त्रालयमध्ये २ छाड्न भनेपछि उपेन्द्र अप्ठ्यारोमा परेका छन् ।जसपाको तर्फबाट कृषिमन्त्रीमा महेन्द्र यादव, भौतिक पूर्वाधारमा रेणु यादव, वन मन्त्रालयमा रामशहायप्रसाद यादव र संघीय मामिला तथा सामान्य प्रशासनमा राजेन्द्र श्रेष्ठ मन्त्री छन् ।यसैबीच, पार्टीभित्र डा। बाबुराम भट्टराईसँग विवाद बढेसँगै उपेन्द्रले महन्थ ठाकुरको लोसपासँग पार्टी एकताको पहल शुरू गरेका छन् । लोकान्तरसँग कुरा गर्दै यादवले एकताका लागि ढोका खुलै रहेको प्रतिक्रिया दिएका थिए ।