काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बर्दियाको मधुवन नगरपालिकामा सोमवार भएको घटनामा गोली चलाउने आदेश नदिइएको बताएका छन् ।प्रमुख जिल्ला अधिकारीले समेत गोली चलाउन आदेश नदिएको अवस्थामा कसरी गोली चल्यो भन्नेबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्ने उनले बताए ।मंगलवार प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर गृहमन्त्री खाणले नागरिक भेला भएको स्थानमा गोली चलाउन गृहको आदेश नरहेको बताएका हुन् । उनले बर्दिया घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा छानबिन समिति बनाइएको जानकारी दिए ।‘बर्दियामा भएको घटनामा गोली चलाउने आदेश छैन, सम्झाइबुझाइ गर्ने र सर्वपक्षीय बैठक गरेर सल्लाह गर्ने सरकारको नीति हो,’ गृहमन्त्रीले भने, ‘सीडीओले पनि आदेश दिएको थिएन । नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व हो । कुन अवस्थामा गोली चल्यो, गोली चलाउने आदेश कसले दियो त्यसको बारेमा सत्यतथ्य निर्णयपछि कारबाही हुनेछ ।’
बर्दियाको मधुवन नगरपालिकामा सोमवार खेतमा काम गरिरहेको अवस्थामा ४१ वर्षीय अस्मिता थारुलाई चितुवाले आक्रमण गरेपछि स्थानीयले राजमार्गमा गरेको विरोधका क्रममा एक जनाको मृत्यु भएको थियो ।गृहमन्त्री खाणले बाँकेको राप्तीसोनारीमा १६ वर्षे किशोरीमाथि सामूहिक बलात्कारमा संलग्न दोषीमाथि कडा कारबाही गर्ने बताएका छन् ।