काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफ्नो डेलिभरी सेवा अझ सहज र सुलभ पार्न अनलाइन लजिस्टिक कम्पनी उपाय सिटी कार्गोसँग समन्वय गर्ने भएको छ ।
बिहीबार राजधानीमा भएको एक कार्यक्रममा यी कम्पनीबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
‘हाम्रो उद्देश्य भनेकै अनलाइन फुड डेलिभरीमार्फत हाम्रा ग्राहकको जीवन सजिलो बनाउने हो । कहिलेकाहीँ हाम्रो राइडरहरूको क्षमताभन्दा बढी अर्डर आउँछन् । तब केही डेलिभरीमा ढिलाइ हुने वा केही समयका लागि अर्डरहरू लिन रोक्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा अब भने उपाय सिटीका राइडरहरूमार्फत डेलिभरी गर्नेछौं,’ फुडमान्डुका संस्थापक तथा प्रबन्धन निर्देशक मनोहर अधिकारीले भने ।
यस सहकार्यको सहज कार्यान्वयनका लागि फुडमाण्डुले उपाय सिटीका राइडरहरूलाई खाना डेलिभरी गर्नका लागि प्रशिक्षण दिने अधिकारीले बताए ।
फुडमान्डुले यो सहकार्यपछि काठमाडौंका बाहिरी इलाकाहरू र अरू सहरहमा डेलिभरी सेवा विस्तार गर्दा पनि उपाय सिटीसँग साझेदारी गर्ने सोच बनाएको छ ।
यससँगै उपाय सिटीले पनि फुडमाण्डुलाई कोल्ड चेन बक्स र झोलाहरूबाट फ्रोजन तथा चिसो खाद्यन्न डेलिभरी जस्तै सेवाहरु प्रदान गर्नेछन् ।
‘यो सहकार्यमार्फत् हाम्रा राइडरहरुले अफ आवरहरुमा पनि फुडमाण्डुबाट थप यात्राहरु पाउनेछन्, जसले गर्दा राइडरहरुले थप आम्दानी गर्नसक्ने छन्,’ उपाय सिटीका प्रबन्ध निर्देशक सुमन रायमाझीले भने ।