काठमाडौं । अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश घरमा पानी पसेको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण नगरभित्रका अधिकांश घर तथा सरकारी कार्यालयहरू डुबानमा परेका हुन् ।यसैबीच भारी वर्षाका कारण नगरक्षेत्रका अधिकांश बस्ती जलमग्न हुँदा नगर उपप्रमुख किशोरी साहको घर पनि डुबानमा परेको छ ।
वडा नम्बर–१० स्थित उपप्रमुख साहको घर र बेड रूममा समेत पानी पसेको छ ।घर पुरानो भएकोले आसपासका नालाको पानी घरमा पस्ने गरेको उपप्रमुख साहले बताए । हरेक वर्ष यसैगरी आफ्नो घर डुबानमा पर्ने गरेको र यसअघि लालकिशोर साह मेयर हुँदा समस्या लिएर गए पनि कुनै सुनुवाइ नगरिएको उनले गुनासो गरे ।
निरन्तरको वर्षाका कारण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत जलमग्न भएको छ । कार्यालयको मुख्यद्वारसहित प्राङ्गणमा करिव १ फिटसम्म पानी जमेको छ ।