काठमाडौं । चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । आर्थिक वर्षको असार अन्तसम्ममा सरकारले केन्द्रीय बैंकमार्फत विभिन्न बिल–बिजक, ऋणपत्र तथा बचतपत्र गरी कुल २ खर्ब ३१ अर्ब ३० करोड ३० लाख रुपैयाँ ऋण उठाएको हो ।सो अवधिमा विभिन्न समयका ट्रेजरी बिलमार्फत १ खर्ब ३९ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ उठाएकोमा विकास ऋणपत्रमार्फत १ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ, नागरिक बचतपत्रमार्फत २ अर्ब ८२ करोड ९८ लाख रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रमार्फत ५ करोड ६७ लाख रुपैयाँ ऋण स्वरूप उठाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यद्यपि, छोटा अवधिका २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको चालु आर्थिक वर्ष भित्र नै भुक्तानी हुने भए पनि एक वर्षमाथिका ऋणहरू भने जारी रहनेछन् ।बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि ऋण उठाउन थालिएकोमा यस त्रैमासमा ६ अर्ब रुपैयाँ उठाइएको र तेस्रो र चौथो त्रैमासमा क्रमशः ९९ अर्ब ४६ करोड र १ खर्ब २५ अर्ब ८३ करोड उठाइएको जनाएको छ । यस्तो ऋण दोस्रो तेस्रो र चौथो त्रैमासमा क्रमशः २.६ प्रतिशत, ४३ प्रतिशत र ५४.४०२ प्रतिशत सङ्कलन गरिएको छ ।सरकारले आवश्यक पर्दा राष्ट्र बैंकमार्फत विभिन्न औजार प्रयोग गरी आन्तरिक ऋण उठाउने गर्छ । सोही विधिमार्फत चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको हो ।