काठमाडौं - स्वतन्त्र राष्ट्रिय अभियान, उन्नत लोकतन्त्र पार्टी, रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टी, पुण्य प्रसाई नेतृत्वको सचेत नेपाली पार्टी र रोमलाल गिरी नेतृत्वको नेपाल आमा पार्टी एकीकरण हुने अन्तिम चरणमा पुगेको बताइएको छ ।यस अघि उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले आफ्नो आधिकारिक फेसबुक पेजमा लामो स्ट्याटस लेख्दै सो बारेमा जानकारी दिएका थिए ।
उनले नवौं चरणको संयुक्त बैठकबाट सो निष्कर्शमा पुगिएको र केही प्राविधिक कुराहरु बाँकी रहेको बताएका थिए ।
हिजो र आज सम्पन्न ११ औं चरण सम्मको बैठकले स्वागत नेपाललाई अध्यक्ष मान्ने, अन्य पार्टीका अध्यक्षहरु स्थायी समितिमा रहने गरी सहमति भएको बताइएको छ ।
बैठकबाट चुनाव चिन्ह पार्टीको नाम र झण्डाबारे भने अन्तिम निर्णयमा पुग्न नसकिएको पनि बैठकमा सहभागी एक नेताले बताए ।
उनका अनुसार सचेत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाई र उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले खस ब्राह्मण, जनजाति, सीमान्तकृत (दलित बनाइएको) र मधेसी समुदायबाट चक्रिय आधारमा
पार्टी र सरकारको प्रमुख हुनु पर्ने व्यवस्थामा अन्य दुई दलबाट सहमति हुन सकेको छैन ।
सुशासन पार्टीले आफ्नै पार्टीको नाम नै एकीकृत पार्टीको नाम हुनु पर्ने अडान राखेको बताइएको छ भने अन्य दलहरुले त्यसमा केही संशोधन गर्नु पर्ने अडान राखेका छन् ।
त्यसैगरी संघीयताको पुनर्संरचन गर्नु पर्ने कि खारेज नै गर्नु पर्ने भन्ने विषयमा पनि एकमत हुन सकेको छैन ।
स्वागत नेपालले कुरा गर्दै आफूले संसदमा पुगेर एमसीसी खारेज गर्ने, राइट टु रिजेक्ट र रिकल लागू गर्नु पर्ने, स्रोत नखुलेको सबैको सम्पत्ति राष्ट्रियकरण गर्नु पर्ने भनी १२ वर्षदेखि गरिरहेको आन्दोलन लगायत मुख्य एजेण्डा बनाउनु पर्ने प्रस्ताव राखेकोमा सो मा सहमति जुट्न नसकेमा आफूहरु एकतामा सहभागी हुन नसक्ने अडान लिए बाहेक पद, चिन्ह, नाम केहीमा पनि अडान नलिएको बताए ।
उनले भने, हामीले दलित बनाइएको समुदाय, जनजाति, खस ब्राह्मण, मधेसी सबै समुदायबाट चक्रिय आधारमा निर्वाचनबाटै अनिवार्य चयन हुनेगरी पार्टी र सरकारको नेतृत्वमा रहने पूर्ण समानुपातिक व्यवस्था राख्न हामीले प्रस्ताव गरेका छौं त्यसमा सहमति जुटाउने प्रयास भइरहेको छ ।
साथै उनले अन्य अभियान पार्टी र व्यक्तित्वहरुलाई पनि स्टेयरिंग कमिटिमा राख्न मिल्ने गरी पछि पनि अन्य सबैलाई समेट्ने गरी प्रयास भइरहेको बताए ।
नेपालले स्वतन्त्र व्यक्तित्वहरुलाई पनि समेटेर साझा उम्मेदवारका रुपमा एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा पुराना नेता र दलहरुलाई पाखा लगाउने गरी अघि बढ्ने गरी पुनः देशभर प्रयास जारी रहेको पनि जानकारी दिएका छन् ।