
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री डा.बेदुराम भुसालले चामलमा नेपाललाई आत्मनिर्भर बनाउँन चैते धानको उत्पादन बढाउँनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि सरकारले सिचाई, बिउँविजन, यन्त्र लगायतका प्रबन्ध मिलाउँन तयार रहेको मन्त्री भुसालले बताए । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज (बुधबार) आयोजना गरेको अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री डा. भुसालले यस्तो बताएका हुन् । चैते धानको उत्पादन बढाउँनका लागि कृषि र सिचाई मन्त्रालयका बीचमा समन्वय गरी योजना निर्माण भईरहेको बताउँदै उनले योजना निर्माण पश्चात आक्रमक रुपमा योजनाहरु लागु गरी धान उत्पादन अहिलेको भन्दा बढी गर्ने बताए । ‘देशैभरी रहेका खाली जग्गाको हामीले उपयोग गर्छौ ।हामीलाई चाहिने भन्दा बढी नै धान उत्पादन हामी गर्न खोजेका छौं । त्यसका लागि चैते धानको उत्पादन बढाउँन रणनीति निर्माणमा लागेका छौं’ मन्त्री भुसालले भने, ‘सिचाई, बिउँबिजन, यन्त्र लगायतको प्रबन्ध सरकारले गर्छ । सिचाईका लागि कृषि र सिचाई मन्त्रालयका बीचमा अहिले छलफल चलिरहेको छ । किसानलाई आवश्यक बिषय हामीले उपलब्ध गराउँनेछौं ।’ कार्यक्रममा नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले कृषि क्षेत्रमा भईरहेको अनुसन्धान तथा बिभिन्न कार्यक्रमले कृषि र कृषकको बिकासका साथै सरकारले अघि सारेका योजना एवं रणनीति पुरा गर्न लागि परेको बताए । कृषि र कृषकका बिकासका लागि नार्कका बैज्ञानिक एवं कर्मचारीले गरिरहेका बिभिन्न कामले सरकारको लक्ष्य प्राप्तिका लागि सहयोगी सिद्धहुने उनले बताए । सरकारका योजना एवं रणनीतिलाई पुरा गर्नका लागि नार्क लागि परेको उनले बताए । कार्यक्रममा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका संयोजक डा.रामबरण यादवले चैते धान उत्पादन बढाउँने बारेमा आफ्नो प्रस्तुति पेश गरेका थिए । चैते धान उत्पादन गरेर नेपाललाई आत्मनिर्भर बनाउँन सकिने उनले बताए । चाहिने भन्दा बढी धान नेपालमा उत्पादन गर्न सकिने बताउँदै त्यसका लागि सरकारले किसानलाई बिउ, सिचाई, यन्त्रको व्यवस्था गर्नुपर्ने यादवले बताए । अहिले नेपाललाई बार्षिक रुपमा ७९ लाख ७० हजार मेट्रिकटन धान चाहिन्छ । तर नेपालमा ५६ लाख १ हजार मेट्रिकटन धान मात्रै उत्पदन भईरहेको यादवले बताए । खानका लागि ६८ लाख ७० हजार टन र बिउ सहित अन्य प्रयोजनाका लागि ११ लाख टन गरी ७९ लाख ७० हजार मेट्रिकटन धान उत्पादन गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।चैते धान २ लाख ५० हजार हेक्टर क्षेत्रमा थप उत्पादन बढाउँने हो भने १३ लाख ७२ हजार टन उत्पादन गर्न सकिने उनले बताए । उत्पादन बढाउँन सरकारले किसानलाई आवश्यक सामाग्री उपलब्ध गराउँनुपर्ने सुझाव उनको छ । कार्यक्रममा नार्कका पूर्व कार्यकारी निर्देशक डा.टेकबहादुर गुरुङले नार्क पूर्नसंरचना उप– समितिको प्रतिवेदन प्रस्तुत गर्दै नार्कलाई अनुसन्धान विभागमा परिणत गर्नुपर्ने सुझाव दिएका छन् । नार्कको कार्यकारी निर्देशकलाई कृषि अनुसन्धान सचिव बनाउँनुपर्ने सुझाव पेश गर्दै गुरुङले नार्कमै मानित विश्वविद्यालय निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।कषि मन्त्री भुसालले आवश्यक थप छलफल एवं अनुसन्धान गर्दै नार्कलाई उत्कृष्ठ एक अनुसन्धान संस्थाको रुपमा अगाडी बढाउँनुका साथै विश्वविद्यालयको गठनको बारेमा समेत थप छलफल र अनुसन्धान गरी अगाडी बढने बताए । अनुगमन तथा मुल्यांकन महाशाखा नार्कका बैज्ञानिक डा.विवेक सापकोटाले नार्कको खाली एवं बाझो जग्गाको उपयोगको बारेमा प्रस्तुति पेश गर्दै त्यसमा बिभिन्न किसिमका बाली उत्पादन गर्न सकिने बताए । नार्क अन्तरगतका बिभिन्न कार्यालयहरुमा जङ्गल, चरन, खोल गरी ४१ प्रतिशत जग्गा खाली रहेको उनले बताए ।५ सय ३१ हेक्टर क्षेत्र खाली रहेको र यसमध्ये ३ सय २८ हेक्टर क्षेत्रलाई बिभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिने सापकोटाले बताए । कृषि मन्त्री भुसालले नार्कको ति खाली एवं बाझो जग्गाको उपयोग गर्दै बिभिन्न बाली उत्पादन गर्नुपर्ने सुझाव दिए । जडीबुटीका साथै धान, मकै, तरकारी, फलफलु लगायतका खाद्य उत्पादन गर्न ति खाली एवं बाझो जग्गाको उपयोग गर्नुपर्ने उनले बताए । देशैभरी रहेका खाली जग्गाको उपयोग गर्दै बिभिन्न बाली उत्पादनका योजना पेश गर्न निर्देशन दिदै मन्त्री भुसालले त्यसका लागि सिचाईका साथै अन्य आवश्यक बिषयमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैगरी कार्यक्रममा टिकापुर क्षेत्रको केरामा देखिएको पानमा रोगको प्रजाति टिआर ४ बारेमा राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका बैज्ञानिक डा.रामबहादुर खडकाले जानकारी गराए ।केरामा लाग्ने पानमा रोग टिआर ४ को बारेमा खडका नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको र टिकापुर क्षेत्रमै पुगेर त्यहाँको अवस्थाको बारेमा समेत उनले जानकारी गराए । नेपालमा २६ हजार हेक्टरमा केरा खेती भईरहेको र १५ अर्ब भन्दा बढीको कारोबार हुने गरेको बताउँदै उनले यस रोगको नियन्त्रणका लागि भईरहेको प्रयासको बारेमा जानकारी खडकाले गराएका छन् । टिकापुर क्षेत्रमा यो रोग देखिएपछि अन्य क्षेत्रमा फैलिन नदिनका लागि नार्कबाट भईरहेको प्रयास बारे जानकारी गराउँदै उनले यसमा सरकारबाट सहयोग गर्नुपर्ने सुझाव दिए । खडकाको सुझाव पश्चात मन्त्री भुसालले यसबारेमा तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गर्दै यस रोगको नियन्त्रणका लागि सबै प्रयास एवं सहयोग उपलब्ध गराउँने प्रतिबद्धता व्यक्त गरे । आवश्यक अध्ययन गरी सरकारले रोग नियन्त्रणका लागि किसानलाई क्षतिपुर्ति दिएर त्यही आगो लगाई अन्य क्षेत्रमा रोग फैलिन नदिने उनले बताए ।




























