
देशभर ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने रोपिएका धानबालीका लागि मल अभाव नहुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । हाल सरकारसँग ५३ हजार ९७७ टन मल मौज्दात रहेको जनाएको छ ।सरकारले रासायनिक मलकोे मौज्दात र वितरण प्रक्रियालाई प्रभावकारी बनाएकाले मलको अभाव नहुने मन्त्रालयले जनाएको छ । त्यसैले मलको मौज्दात र वितरण प्रक्रियालाई ध्यान दिइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद मिश्रका अनुसार सरकारसँग अहिले ५३ हजार ९७७ टन मल मौज्दात छ ।मिश्रका अनुसार साल्ट ट्रेडिङ् कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडसँग अहिले उक्त परिमाणको मल मौज्दात रहेको हो । उहाँले भन्नुभयो, “साउन सकिन लाग्दा अझै १३ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ हुन बाँकी छ । मलको माग अझै बढ्न सक्ने भएकाले मलको भण्डार र वितरणलाई व्यवस्थित बनाएका छौँ ।”धानको भण्डारणको रुपमा हेरिने मधेश प्रदेशमा ३२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ गर्न बाँकी नै रहेकाले मलको माग बढी हुने उहाँको भनाइ छ । साल्ट ट्रेडिङ् कर्पोरेसनसँग युरिया १० हजार ९७०, डीएपी १८ हजार २८५ र दुई हजार १७० मेट्रिक टन मल मौज्दात छ भने कृषि सामग्री कम्पनी लिमिटेडसँग युरिया १० हजार ९९४, डिएपी सात हजार २१२ र पोटास चार हजार ३४६ टन मल मौज्दात छ ।५५ हजार टन मल आउँदै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद मिश्रका अनुसार युरिया ३० हजार मेट्रिक टन र डीएपी २५ हजार मेट्रिक टन मल आयात हुँदैछ । उक्त परिमाणको मल कोलकत्ता बन्दरगाहबाट लोड भएर नेपालतर्फ ल्याइँदै छ । २१ दिनभित्रमा मल नेपाल आइपुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिलेको जस्तो धानबालीको लागि किसानलाई रासायनिक मलको अभाव हुँदैन । ५५ हजार मेट्रिक टन मल कोलकत्ताबाट आयात हुँदैछ ।”तीन लाख २४ हजार टन मल टेण्डरकृषकलाई पर्याप्त मल आपूर्ति गर्नका लागि तीन लाख २४ हजार टन रासायनिक मल खरिदका लागि टेण्डर भइसकेको छ ।मन्त्रालयका सहसचिव मिश्रका अनुसार धान पसाउने समयमा युरिको माग बढी हुने र पछि गहुँ लगाउने समयमा पनि मलको आवश्यकता पर्ने भएकाले टेण्डर भएको उहाँको भनाइ छ । विशेषगरी धान रोप्ने समयमा युरिया मलको माग हुने र धान पसाउने समयमा डीएपी मलको माग हुने उहाँको भनाइ छ ।तीन लाख ८२ हजार टन मल बिक्री साल्ट टेड्रिङ् र कृषि सामग्री कम्पनी लिमिटेडले यो वर्षको साउन मसान्तसम्म तीन लाख ८२ हजार मेक्ट्रिक टन मल बिक्री गरेका छन् । गत आर्थिक वर्ष २०७९÷८० को मौज्दात मलसहित साउन मसान्तसम्म युरिया, डीएपी र पोटास गरी उक्त परिणामको मल बिक्री भएको जनाएको छ ।केही स्थानीय तहमा मल बिक्रीमा समस्या देखिएकाले त्यसलाई समाधान गर्ने प्रयाास भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मल बिक्री गर्नका लागि स्थानीय तहलाई जिम्मा दिइएको छ । केही स्थानीय तहले बिक्री नगरी भण्डारण गरेको गुनासो मन्त्रालयसम्म आएको छ । यसलाई समाधान गर्ने प्रक्रियामा छौँ ।”




























