काठमाडौं । स्थानीय तह निर्वाचनका लागि २७ दिनमात्र बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ। मनोनयन दाखिला गर्न अब ७ दिनमात्र बांकी रहँदा पालिकाहरुमा आकांक्षीहरु टिकटका लागि लबिङ गरिरहेका छन्। देशको राजधानी रहेको काठमाडौं महानगरलाई पनि अहिले स्थनीय तह निर्वाचनले छोइसक्यो। राजनीतिक दलहरु महानगरमा पकड जमाउन आन्तरिक रणनीति बनाइरहेका छन्। यस्तैमा स्वतन्त्र रुपमा उम्मेदवारहरुको संख्या पनि बढ्दो छ।यसअघि काठमाडौं महानगरपालिको प्रमुख पद जित्न सफल नेकपा एमाले फेरि निर्वाचन जित्ने दाउमा छ। तर, चैत महिनाको अन्तिसम्म उम्मेदवार टुंगो लगाउँछु भनेको एमालेले अहिलेसम्म पालिकाहरुमा उम्मेदवार टुंगो लगाउन सकेको छैन। काठमाडौं महानगरमा पनि आकांक्षीहरुको लिस्ट लामो हुँदा एमालेले उम्मेदवार टुंगो लगाउन सकेको छैन। एमाले महानगर कमिटीले महानगर प्रमुखमा ५ जनाको नाम सिफारिस गरेको छ।अहिलेका नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्व राज्यमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटी अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम एमालेबाट प्रमुख पदका लागि सिफारिस गरिएको छ। यसमा पनि विद्यासुन्दर शाक्य र केशव स्थापितको दाबी बलियो मानिएको छ। अहिले महानगर कमिटीबाट सिफारिस भएकाहरुको नाम जिल्ला कमिटीमा छलफलमा छ। त्यसपछि छानिएका नामहरु केन्द्रमा पठाइनेछ। नाम छनोट गर्ने प्रक्रियामा गए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले जसलाई छनोट गरे ती नै महानगर प्रमुखको उम्मेदवार हुने महानगर कमिटीका एक पदाधिकारी बताउँछन्।यता, नेपाल कांग्रेसले पनि महानगरमा उम्मेदवार छनोट गर्न सकेको छैन। केन्द्रमा गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेस यसपटक महानगरको नेतृत्व गर्न चाहिरहेको छ। केन्द्रमा हाबी देखिए पनि काठमाडौं महानगरको प्रमुखमा कांग्रेसको प्रदर्शन फितलो छ। यसअघि भएका दुई स्थानीय तह निर्वाचनमा कांग्रेसले महानगर हाक्न पाएन। योपटक भने गठबन्धनको सहारामा महानगरको नेतृत्व गर्ने कांग्रेसको चाहना छ। तर, गठबन्धनमा भागबन्डाको सकसबिच कांग्रेसले निर्णय गर्न सकेको छैन। जसकारण कांग्रेसको महानगर कार्यसमितिले पनि आकांक्षी उम्मेदवारको नाम दिन सकेको छैन। स्थानीय तहका संयन्त्रलाई आजसम्म नाम सिफारिस गर्न यसअघि गठबन्धनले भनेको थियो।नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिका सचिव सुसन वैद्यले महानगरका तर्फबाट हालसम्म उम्मेदवारको नाम सिफारिस नभएको जानकारी दिए। महानगरको प्रमुख पदका लागि मुख्यगरी चार जना आकांक्षी रहेका छन्। जसमा बहालवाला उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, तीर्थराम डंगोल, सिर्जना सिंह र सुसन वैद्यको नाम चर्चामा छ। हरिप्रभाले आफूले सम्पदा क्षेत्रमा राम्रो काम गरेको र मेयर शाक्यले गरेको नराम्रो कामलाई रोकेको भन्दै यसपटक आफूले प्रमुख पदमा लड्न पाउनुपर्ने दाबी गरिरहेकी छिन्। पूर्व राज्य मन्त्री तीर्थराम डंगोल भने कांग्रेसको कोर क्षेत्रमा स्थापित नेता हुन्। विद्यार्थीकाल देखि नै नेपाली कांग्रेसमा सक्रिय रहेकी सिर्जना सिंह प्रतिनिधि सभ क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि हुन्। कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जनालाई महानगरको प्रमुखमा उठाउन अहिले सामाजिक संजालदेखि राजनीतिक तहमै लबिङ भइरहेको छ।यस्तै, महानगर कार्यसमिति सभापति निलकाजी शाक्य र प्रगतिमान रञ्जितको नाम पनि चर्चामा छ। महानगर अधिवेशनमा रञ्जित शाक्यबाट पराजित भएका थिए।यता, गठबन्धनका अन्य दल पनि महानगर प्रमुखमा लड्ने चाहनामा छन्। नेकपा माओवादी केन्द्र र जनता समाजवादी केन्द्रका स्थानीय नेता गठबन्धनले आफूहरुले मौका दिनुपर्ने बताइरहेका छन्। तर, काठमाडौं महानगरमा भने कांग्रेस उम्मेदवार नै खडा हुने सम्भावना रहेको बताइन्छ।दलहरुभित्र आपसी टकराव जारी रहँदा महानगरको प्रमुख पदमा स्वतन्त्र रुपमा खडा हुने आकांक्षीको लिस्ट पनि बढ्दो छ।र्यापर बालेन शाहले दलहरु निर्वाचन माहोलमा होमिनु अघि नै महानगर प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेका थिए। आफूलाई ‘राजनीतिक दल’को विकल्पका रुपमा उनले अहिले प्रचारप्रसार गरिरहेका छन्। यस्तै, पूर्व मिस नेवा: सुनिता डंगोलले पनि महानगर प्रमुखमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन्। काठमाडौंको नेवार समुदायमा राम्रो उपस्थिति भएकी उनले रैथाने युवाहरुको मत पाउने विश्वास गरेकी छिन्। उनले ‘आठ खम्बे विकास मोडल’ सहित घोषणापत्र समेत सार्वजनिक गरिसकेकी छिन्।काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवारी दिने घोषणा गरेका अर्का व्यक्ति हुन् सुशिल थापा। भीमसेन थापाको वंशज सुशिल आफू राजनीतिक किचलो अन्त्य गर्न र आम सर्वसाधरणाको कुरा उठाउन आफू स्वतन्त्र रुपमा उम्मेदवार दिने बताएका छन्।रवीन्द्र मिश्रको विवेकशील साझा पार्टीले काठमाडौं महानगरको प्रमुखमा समीक्षा बास्कोटा र उपप्रमुखमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने घोषणा गरिरहेको छ। उनीहरुले घरदैलो अभियान समेत संचालन गरिसकेका छन्।यी त हाल चर्चामा रहेका नाम भए। अहिले काठमाडौं महानगरपालिको प्रमुख पदका लागि थप व्यक्तिहरु आकांक्षी बनेका छन्। विशेषगरी नेवार समुदायबाट नै धेरै युवाहरु चुनावी माहोलमा होमिने तयारीमा जुटेका छन्।काठमाडौं उपत्यकामा सडक विस्तारबाट पीडितहरुका लागि ‘लबिङ’ गर्दै आइरहेका सुमन सायमिले पनि काठमाडौं महानगर प्रमुखमा उम्मेदवारी दिने भनेर प्रचार प्रसार थालेका छन्। उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष रहेका सायमिसँगै उपप्रमुखमा विद्या श्रेष्ठ महर्जनले पनि उम्मेदवारी दिने तयारी गरेका छन्।यता, सम्पदा संरक्षण अभियानको नेतृत्वको गरिरहेका याद्धवलाल कायस्थालाई पनि महानगर प्रमुखमा उठाउने प्रयास भइरहेको छ। उनले आफूले मेयरमा उठ्न सक्ने बताइरहेका छन्। पछिल्लो समय हराएका मूर्ति र हिति संरक्षणमा समेत लागेका कायस्थाको पक्षमा सामाजिक संजालमा अभियान नै सुरु भइसकेको छ।काठमाडौं महानगरमा आकांक्षी उम्मेदवारहरुको ‘लिस्ट’ बढ्दै जाँदा गठबन्धन र एमाले उम्मेदवार छनोट गरेर चुनावी प्रचारमा लाग्ने अन्तिम तयारीमा जुटेका छन्। गएको निर्वाचनमा रञ्जु दर्शना र किशोर थापाले दलहरुको मत काटेका थिए। अहिले भने काठमाडौंमा ३ लाख बढी मतदाता छन्। गएको निर्वाचनभन्दा थप २० हजारभन्दा बढी मतदाता थपिएका छन्।