सिचाइको सुविधा भएको बागलुङका किसानलाई धान रोपाइँको भ्याइनभ्याइ छ । असार लाग्दै गर्दा किसानहरू रोपाइँमा व्यस्त भएका छन् । सिँचाइ सुविधा भएका स्थानहरूमा यतिखेर धान रोपाइँको चटारो सुरु भइसकेको छ । बागलुङको गलकोट नगरपालिका ६ मजुवा फाँटमा यतिखेर धान रोपाइँ सुरु भएको छ । यहाँ असार नलाग्दै धान रोपाइँ सुरु हुन्छ । राम्रो सिँचाइ सुविधा भएको यस फाँट जिल्लाकै धेरै धान उत्पादन हुनेमा क्षेत्रमा पर्दछ । १२ महिना सिचाइको सुविधा भएको ठाउँ गलकोटको मजुवा, आँगा खेत, बाह्रमुरीलगायतका फाँटमा रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख रामेश्वर सिलवालले बताउनुभयो ।यस क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएको कुलाले यहाँको फाँटमा सिँचाइ सुविधा पुगेको छ ।बागलुङको गलकोट सहित कुश्मीसेरा, खरबाङ, निसी, बुर्तिबाङ लगायतका स्थानमा असारको पहिलो हप्ताभित्रै धान रोपाइँ सकिने गर्दछ । पहिले पहिले असारमा रोपाइ सुरु गर्ने भएपनि अहिले जेष्टको पहिलो सातादेखि नै रोपाइ सुरु हुने गरेको कृषकहरुको भनाइ छ । बागलुङ जिल्लामा अहिलेसम्म १० प्रतिशत खेतीयोग्य खेतमा धान रोपाई सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसपटक मनसुन छिटो शुरू हुने भनिएपनि अहिलेसम्म आकाश बाट पानी नपर्दा आकाशे पानीको भरमा खेती किसानी गर्ने ठाउँमा भने धान रोपाइ शुरू भएको छैन ।