पेलेलाई फुटबल खेलका जादूगर मानिन्छ । फुटबल खेलमा ब्राजिलका यी महान खेलाडी पेलेले जुन मानक स्थापित गरे त्यो कसैले तोड्न सक्यो कि सकेन यो सधैं नै चर्चाको विषय रह्यो । फुटबलको इतिहासमा जब म्याराडोनाको उदय भयो तब सानो कदका यी मानिसको जादूगरीले विश्वका फुटबल प्रेमीलाई लट्ठ बनायो र यिनको तुलना पेलेसँग हुन थाल्यो । वर्तमान विश्व रोनाल्डो र मेसीमय भएको छ । यी दुई फुटबल खेलका महान् खेलाडीको फ्यान बराबरी छन् । अर्थात् फुटबल प्रेमीका लागि अहिले यी दुई खेलाडी भगवान् हुन् ।
त्यसो भए अब कुरा आउँछ यी ४ फुटबलका जादूगर मध्ये सबैभन्दा उत्कृष्ट खेलाडी को होलान् ? यहाँ पहिला पेलेको जीवनी थाहा पाउँ त्यसपछि मात्र हामी यस विषयमा प्रवेश गर्दा उचित होला ।
उनी २३ अक्टोबर १९४० एक फुटबल प्रेमी परिवारमा जन्मेका थिए । स्कुलको समयसम्म यिनले पेले नाम ग्रहण गरिसकेका थिएनन् । बरु परिवारमा यिनको निक नेम डीको थियो ।
उनी फुटबल भनेपछि मरिमेट्थे । तर फुटबल किन्ने औकातसमेत उनको परिवारमा थिएन । उनी फुटबल किन्ने रहर पूरा गर्न अर्काको जुत्तामा पालिस लगाउँथे । साथै सिनेमा हल, नाचघर अगाडि बसेर चना, बदाम बेचे । उनी कपडाको झुम्रोबाट बल बनाएर फुटबल खेल्थे ।
यिनले आप्mना बाबु डोन्डिन्होबाट पूmटबल खेल्न सिकेका थिए जो आपैंm एक पूmटबल खेलाडी थिए र घुँडामा चोट लागेपछि यिनको खेल जीवन टुङ्गिएको थियो । छरछिमेकका धनी परिवारका केटाहरु कंगाल भनी पेलेसँग खेल्दैनथे । उनी नांगै खुट्टाले फुटबल खेल्थे । उनले एउटा टीम पनि बनाएका थिए र यो टीमका कसैसँग पनि खेल्ने जुत्ता थिएन । यो टीमलाई ‘जुत्ता नभएको टीम’ ले चिनिन्थ्यो । स्थानीय टुर्नामेन्टमा जुन बाउरुका मेयरले गराउँथे तब जुत्ता नभएका टीमका फुच्चे खेलाडीले चमत्कार देखाउँथे । जब उनी एघारवर्षको भए, उक्त मरन्च्याँसे ठिटामा भएको फुटबलको जादूगरी गुण एकजना राष्ट्रिय टिमका पूर्वप्रशिक्षक भाल्डेमार डे ब्रिटोले देखेर उनलाई तालिम दिई सान्तोष क्लबमा लगे । अन्त्यमा उनले उक्त ठिटोका बारेमा भविष्यवाणीसमेत गरेका थिए, “यो केटो विश्वमा सर्वश्रेष्ठ खेलाडी हुनेछ ।”
हो, उक्त सर्वश्रेष्ठ फुटबल खेलाडी हुन्, पेले । जसको जन्म ब्राजिलको ट्रेसको कोकोज भन्ने ठाउँमा पिता डोन्डिन्हो र आमा सेलेस्टीको कोखबाट भएको थियो । उनी एक गरिब मजदुर परिवारमा जन्मेका थिए । बाबु मजदुरी गर्दै फुटबल खेल्थे ।
उनको परिवार अत्यन्तै निर्धन र अभावग्रस्त थियो । यतिसम्म कि पेलेको फुटबल खेल्ने चाहना पूरा गर्न एउटा बल किनिदिने औकातसमेत थिएन परिवारको । उनी सानैदेखि फुटबल भनेपछि हुरुक्कै हुन्थे । उनको खेल्ने ठाउँ सडक थियो । बल कपडाको झुम्राले बनेको हुन्थ्यो, खुट्टा नाङ्गै हुन्थ्यो । ब्राजिलको स्थानीय भाषामा खाली खुट्टाले फुटबल खेल्नेलाई पेलेदास भनिन्छ । गरिबीका कारण खाली खुट्टाले नै फुटबल खेलेका हुनाले उनलाई सबैले पेलेदास भन्न थाले । कालान्तरमा पछाडिको दास हटाएर पेले मात्रै भन्न थाले ।
उनको खेलकौशलबाट प्रभावित बनेका ब्रिटोले उनलाई तालिम दिलाए । १७ वर्षमै उनी राष्ट्रिय टिममा सामेल भए । १९ वर्षको भएपछि ब्राजिलको सान्तोष क्लबसँग अनुबन्धित भई फुटबल खेल्न थाले । खेलेको दशवर्षभित्रै उनले १००० गोलसमेत गरे । खेलबाट सन्यास लिनुपूर्वसम्म त १३६९ खेल खेली १२८१ गोलसमेत गरेका थिए ।
ब्राजिलले विश्वकप जित्नमा उनको ठूलो हात छ । सन् १९५८ मा छैटौं विश्वकपमा उनी सर्वश्रेष्ठ खेलाडी घोषित भए । १७ वर्षमै उनले ब्राजिललाई विश्वकप जिताइदिए । सन् १९७० को विश्वकप पनि जिताइदिए । उनले अनेकौं पुरस्कार र विशेषण पाए । ब्राजिल सरकारले उनको तस्वीर हुलाक टिकटमा प्रकाशित ग¥यो र जन्मस्थानमा पूर्णकदको सालिकसमेत बनाइदियो । सन् १९६० मा ब्राजिलले उनलाई ‘राष्ट्रिय सम्पत्ति’ समेत घोषणा ग¥यो । सन् १९७० को विश्वकपमा उनलाई स्वर्णपदकबाट सम्मान गरियो ।
पेले फुटबलका जादुगर थिए । खुट्टैमा बल टँसाएर सर्पजस्तै बाङ्गिएर दगुर्न सिपालु थिए । उनलाई कतिले धकेले, घुँडामै ताकेर हाने, लडाउने प्रयास गरे । विरोधीहरु उनलाई देखेपछि लल्याक लुलुक हुन्थे । कतिले बलको तुजुक देखाए तापनि उनी हारेनन् ।
नाइजेरियामा उनको खेल हेर्नका निम्ति दुई दिनसम्म युद्ध नै बन्द भयो । इरानका शाहले उनीसित कुरा गर्नका लागि एउटा विमानस्थलमा तीन घण्टासम्म पर्खे । एकपल्ट कोलम्बियामा उनलाई रेफ्रीले मैदानबाट बाहिर निकाल्दा सम्पूर्ण दर्शक मैदानमा उत्रे । अन्त्यमा उनलाई मैदानमा नल्याई धरै पाएनन् । इटली र अल्जेरियाबाट उनलाई निकै प्रलोभन आयो तर उनले ती सबै प्रलोभन अस्वीकार गरे । उनको आत्मकथा ‘माइ लाइफ एन्ड द ब्युटिफूल गेम’ संसारमा सर्वाधिक बिक्री हुने पुस्तक मध्ये एक बन्यो ।
पेले इमान्दार, भद्र र नम्र स्वभावका थिए, घमण्ड त उनको शब्दकोषमै थिएन । आजीवन उनी सान्तोष क्लबमा आवद्ध भए । सन् १९६९ मा उनलाई युरोपका धनाढ्य क्लबहरुले किन्न खोजे तर उनी मानेनन् । उनी कुनै लोभमा फँसेनन् । सान्तोष क्लबले भन्यो, ‘पेले हाम्रा देउता हुन् । हामी कसरी आफ्नो देउतालाई बेच्न सक्छौं ?’ उनी ब्राजिलको खेलकुद मन्त्रीसमेत भएका छन् ।
सन् १९६६ मा पेलेले रोजमेरी नामक युवतीसँग बिहे गरे तर फुटबलमा मात्र लागिरहने, आफू र आफ्नो परिवारलाई समय नदिएकाले सन् १९७८ मा सम्बन्धविच्छेद भयो । त्यसपछि उनले सन् १९९२ मा १९ वर्ष कान्छी एसिरिया सिक्सास लेमोससित दोस्रो बिहे गरे ।
सन् १९७१ को युगोस्लाभियाविरुद्धको खेलपछि उनले फुटबलखेलबाट सन्यास लिए । आफ्नो १० नम्बरको जर्सी फुकाले, आँखाभरि आँसु लिई मैदानको एक चक्कर लगाए । विश्वको फुटबल खेलमा उनले अद्भुत रेकर्ड राखे । फुटबलको इतिहासमा उनलाई फुटबलका बादशाह पनि भनिन्छ । इटलीमा उनलाई ‘इलेर’ (बादशाह) भन्छन्, फ्रान्समा ‘ला ट्युलिपनोयर (कालो ट्युलिप फूल) भनिन्छ, चिलीमा ‘एल्पेल्ग्रो’ (खतरा), ब्राजिलमा ‘परेलानेग्रा’ (कालोमोती) आदि उपनामले चिनिन्छन् । उनको लोकप्रियताले संयुक्त राष्ट्रसंघ युनेस्कोले उनलाई सद्भावना दूतसमेत बनायो । उक्त सम्मान पाउने उनी नै पहिलो खेलाडी हुन् ।
उनले रक्सी छुँदै छोएनन् । सरल र नम्र छन् । गरिबप्रति दयामाया देखाउँछन् । तर गाडीमा भने असाध्यै शौखिन छन्, थुप्रै गाडी भेलापारेका छन् । उनी संगीत पनि रचना गर्छन्, कविता लेख्छन् र चित्र पनि बनाउँछन् । उनका थुप्रै कम्पनी पनि छन् ।
उनलाई किम्बदन्ती बनाउने अनेकौं प्रसङ्गहरु पनि छन् । सन् १९७० को विश्वकपमा इंग्ल्यान्डविरुद्धको म्याच खेल्दा उनले गरेको शक्तिशाली प्रहारबाट इंग्ल्यान्डका चर्चित गोलकिपर गोर्डन ब्याङक्सको हात नौ ठाउँमा भाँचिएको थियो ।
सन् १९९७ मा ११० ओटा मुलुकका ५ लाखभन्दा बढी खेलप्रेमीहरुका बीच युरोपमा गरिएको एक सर्वेक्षणमा वर्तमान विश्वको लोकप्रिय खेलाडीमा एक नम्बरमा पेलेको नाम परेको थियो ।
वास्तवमा फुटबल र पेले एकआपसमा परिपूरक छन् । उनी फुटबलकै लागि जन्मेका थिए । त्यसैले त उनले भनेका छन्, “म फुटबल खेल्नकै लागि जन्मेको हुँ ।”
कसैलाई पनि अर्को मानिससँग दाँज्नु प्राकृतिक नियमको विपरीत हुन जान्छ किनकि प्रकृतिले हरेकलाई फरक बनाएको हुन्छ । पेले महान् थिए उनको यस जीवनी पढ्पछि हामी भन्न सक्छौं तर म्याराडोना, रोनाल्डो र मेसी पनि आफ्नो समयका महानतम् खेलाडी हुन् जुन समयले प्रमाणित गरिसकेको छ । तथापि पेलेले फुटबलको इतिहासमा सर्वप्रथम जुन मानक बनाए त्यसले गर्दा उनी प्रतिस्पर्धाभन्दा माथि छन् ।