
वर्तमान व्यवस्थाप्रति तीव्र जनआक्रोश रहेको भन्दै सक्रिय प्रतिगामी शक्तिहरु बीच नै मतभेद रहेको देखिएको छ । प्रतिगामी शक्तिहरुका कारण गणतन्त्र खतरामा पर्ने अवस्था आएको भन्दै केही साताअघि प्रधानमन्त्री प्रचण्डको आह्वानमा गणतन्त्र पक्षधर दलहरुबीच बैठक नै आयोजना गरिएको थियो । तर, गणतन्त्रको विरोधका साथै बैंकिङ ऋणको एजेण्डा लिएर मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा देखिएको क्रिया–प्रतिक्रियाले गणतन्त्र विरोधी शक्तिहरु नै एकठाउँमा नरहेको देखाएको हो ।बिहीबारदेखि प्रसाईंले काठमाडौँमा आन्दोलन गर्दै आएका छन् । उनको आन्दोलनलाई केही राजावादीहरुको साथ रहेको भनिएपनि राजावादी पार्टी राप्रपाले भने संस्थागत रुपमा साथ दिएको छैन । यस्तै स्वयम् पूर्वराजा ज्ञानेन्द्र शाह पनि प्रसाईंको आन्दोलनप्रति मौन छन् । बरु यही बीचमा राप्रपाले प्रसाईंलाई देखाइदिने शैलीमा शनिबार झापाको बिर्तामोडमा शक्ति प्रदर्शन गरेको छ ।आन्दोलनको पहिलो दिन बिहीबार हजारौँ समर्थकलाई काठमाडौँमा उतारेर आन्दोलन थालेका प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट पीडित भएकाहरुको ऋण मिनाहाका साथै राजतन्त्र पुर्नस्थापनाको एजेण्डा पनि अघि सारेका थिए । जसअनुसार बिहीबार बल्खुमा भएको आन्दोलनमा राजतन्त्रको पक्षमा नारा घन्किएन मात्रै शुक्रबारसम्म आइपुग्दा तीनकुनेमा आन्दोलनका लागि तयारी गरेका कैयन राजावादी संगठनका कार्यकर्ता गिरफ्तारीमा परे । प्रसाईंको आन्दोलनमा राजवादीहरु नै पक्राउ पर्दासम्म पूर्वराजा नबोल्नुले उनको आन्दोलनप्रति पूर्वराजाको दृष्टिकोणबारे चासो राख्न थालिएको छ । उसो त आफूले राजतन्त्र पुर्नस्थापनाको एजेण्डासमेत उठाएकाले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष समर्थन गरिदिनुपर्ने प्रसाईंले सार्वजनिक रुपमा बताउँदै आएका छन् ।बिहीबारकै प्रदर्शनपछि साँझ आयोजित पत्रकार सम्मेलनका क्रममा प्रसाईंले सके पूर्वराजा आन्दोलनमा समर्थन जनाउन आउनुपर्ने र त्यो पनि नसके समर्थनमा पत्रमात्रै भएपनि दिनुपर्ने धारणा राखेका थिए । तर, आन्दोलनको तेस्रो दिनसम्म आइपुग्दा प्रसाईंको मागअनुसार पूर्वराजाले न आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् न त पत्र पठाएर कुनै समर्थन नै । बरु शाह काठमाडौँमा प्रसाईंले आन्दोलन गरिरहेकै बेला झापा पुगेर अर्को कार्यक्रममा सहभागी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सहयोगमा भएको भनिएको झापाको कार्यक्रममा पूर्वराजा सहभागी भएका हुन् । बिर्तामोडको उक्त कार्यक्रममा पूर्वराजासँगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित भएका थिए भने राप्रपाका अन्य केन्द्रीय नेताका साथै हजारौँ राजावादीहरुको उपस्थिति रहेको थियो । सो क्रममा पूर्वराजा बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी भए भने सर्वसाधारणसँग भलाकुसारी पनि गरेका थिए ।
पूर्वराजा बिर्तामोडको कार्यक्रममा सहभागी हुने भएपनि थापासहित कोशी प्रदेशका विभिन्न गाउँबाट राजावादीहरुलाई उतारिएको थियो । सो क्रममा राजावादीहरुले विभिन्न ठाउँबाट ¥याली निकाल्दै राजतन्त्रको पक्षमा चर्को नाराबाजी गर्नुका साथै काठमाडौँमा दुर्गा प्रसाईंले गर्दै आएको आन्दोलन भन्दा भव्य देखाउने प्रयास गरेका थिए । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यक्रमलाई भव्य बनाउनका लागि अध्यक्ष लिङ्देन एक डेढ साता अघिदेखि पूर्वी नेपालमा सक्रिय रहेका थिए । लिङ्देनको गृहजिल्लासमेत रहेको झापामा योजनाअनुरुप भव्य कार्यक्रम भएको श्रेष्ठको भनाइ छ । पूर्वराजालाई स्वागत सडकमा स्वागत गर्दादेखि कार्यक्रमसम्मको अवधिमा राजावादीले ‘राजा आउ देश बचाउ, राजतन्त्र जिन्दावाद, गणतन्त्र मुर्दावाद’लगायतका नारा लगाउँदै वर्तमान व्यवस्थाको विरोध गरेका थिए । राजावादीहरु पूर्वराजाले वर्तमान व्यवस्था र जारी आन्दोलनबारे झापामा केही बोल्ने अपेक्षा गरेपनि त्यहाँ समेत उनी मौन बसिदिए । कार्यक्रमको आतिथ्यता र शालिक अनावरण गर्नुबाहेक उनी प्रतिक्रियाविहीन भएका हुन् । तर, आफ्नो प्रत्यक्ष सहभागितामा भएको कार्यक्रममा पूर्वराजा सहभागी भएको विषयलाई लिएर राप्रपा उत्साहित देखिएको छ । राजावादी पार्टी र समूहभित्र कोचाहिँ पूर्वराजाको नजिक बन्ने भन्नेमा होडबाजी देखिन्छ । यस्तो अवस्थामा पूर्वराजाले आफ्नो पार्टीलाई विश्वास गर्दै झापा आएको बुझाइ राप्रपाको छ । उसो त लिङ्देनलाई दुई वर्षअघि भएको राप्रपाको महाधिवेशन नै पनि पूर्वराजा र निर्मलनिवासबाट प्रत्यक्ष सहयोग रहेको आरोप लागेको थियो । सोही विषयमा असन्तुष्टि जनाउँदै लिङ्देनसँग महाधिवेशनमा पराजित बनेका कमल थापाले सार्वजनिक आक्रोश पोख्दै पार्टी छाडेका थिए ।
राजतन्त्रको समेत एजेण्डा बोकेर दुर्गा प्रसाई आन्दोलनमा होमिएको बेला राप्रपाले घोषित रुपमा साथ नदिने बरु झापामा अर्को कार्यक्रम गरेर पूर्वराजालाई उपस्थित गराउनु आफैमा रोचक भएको कतिपयको भनाइ छ । झापामा ज्ञानेन्द्र शाहको उपस्थितिसँगै राप्रपाले आफूलाई असली राजावादी पार्टीजस्तो देखाएर दुर्गा प्रसाईंलाई पूर्वराजाको विश्वास नरहेको सन्देश दिन सफल भएको छ । प्रसाईंले व्यवस्था बदल्ने भन्दा अन्य स्वार्थमा गाउँगाउँबाट सर्वसाधारण उतारेको उसको बुझाइ छ । राप्रपाका नेताहरु राजतन्त्रका प्रमुख संवाहक आफ्नो पार्टीसँग राजतन्त्र फर्काउने एजेण्डामा प्रसाईले कुनै छलफल नगरेको बताउँछन् । यस्तै पछिल्लो समय राजतन्त्रको पक्षमा माहोल बढेपनि व्यवस्था नै बदल्ने गरि आधार तय नभएको समेत राप्रपाको बुझाइ छ ।यता दुर्गा प्रसाईंको आन्दोलनबारे सुरुमा देशभर तीव्र चासो रहेपनि शनिबारसम्म आइपुग्दा शिथिल अवस्थामा आइपुगेको छ । आन्दोलनलाई सही गति दिन असफल प्रसाईंका लागि आफ्नै बोली महँगो बन्न पुग्यो । असंवेदनशील हुँदै राजनीतिक दलका नेताविरुद्ध आगो ओकलेका उनले नेतालाई जहाँ भेट्यो त्यही ठीक पार्नेसम्मको अभिव्यक्ति दिए । प्रसाईंको बेलगाम अभिव्यक्तिपछि शुक्रबार तीनकुनेमा आयोजित प्रदर्शन प्रशासनले बिथोल्यो भने सुरक्षाका कारण देखाउँदै उनी भक्तपुरको ठिमीस्थित घरबाट समेत बाहिर निस्कन पाएनन् । प्रशासनसँगको छलफलपछि शनिबार भने उनको प्रदर्शन त भयो नै तर उपस्थितिको संख्या न्यून थियो । उनी आफैँले पनि त्यसको स्वीकार गरेका छन् भने उपत्यकाबासीले नै आन्दोलनमा साथ नदिएको गुनासो पोखेका छन् ।सिफलमा आयोजित प्रदशर्नमा बोल्दै उनले युवाहरु विदेसिएको र देशमा बस्न नसक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गरे । ‘म जति बाँच्छु तपाईंहरुको हितमा काम गछुं । साथ दिन तपाईंहरु बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन’, उनले भने । उनले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको बताए ।उनले काठमाडौँ ललितपुर र भक्तपुरबासी कहिले घरबाट बाहिर निस्केर आन्दोलनमा सघाउन आउँछन् भन्दै प्रश्न पनि गरे । उनले स्वाभिमानको लडाइँमा समयमै सहभागी हुन अनुरोध गरे ।यस्तै प्रसाईंले आफ्नो आन्दोलनमा सहभागी हुन काठमाडौंका मेयर बालेन शाहलाई समेत आग्रह गर्न भ्याए । ‘बालेनजीलाई पनि फेसबूकमा मात्र लेख्ने होइन, दुर्गा प्रसाईंसँग आएर उभिनुस् मुलुक बनाउने हो भने’, प्रसाईंले भने, ‘तपाईँलाई मन पराए भने कार्यकारी प्रधानमन्त्री बनन्नुस् मलाई चाहिँदैन । आउनुस् पहिला यी महिलाका आखाका आशु पुछौँ । तपाईँ पनि सिराहा सप्तरीतिरको हो, यी महिला पनि त्यतैका हुन् ।’ तर उनी राजावादीसँग भने असन्तुष्ट देखिए । ‘तपाईँहरू आफूलाई राजावादी भन्नुहुन्छ । तर सही आन्दोलनलाई साथ दिनुहुन्न’, उनको गुनासो थियो ।उनले राजावादीलाई राजावादी नभएर अब आफूहरुको आन्दोलनमा राष्ट्रवादी हुँदै नेपालको झण्डा बोकेर आउन पनि आह्वान गरे । नेपालको झण्डामुनि गोलबद्ध भएर भ्रष्टाचार र गरिबीविरुद्ध लड्नुपर्ने उनको भनाइ थियो । ‘कुरा बुझ्नुभयो नि, एक समय रेडियोले भन्थ्यो, यो समय मुना चियाको हो । अहिले यो समय दुर्गा पसाईंको हो । देशको विकास गर्न दुर्गा प्रसाई जन्मिएको छ।’, उनको दाबी थियो । प्रसाईको आन्दोलन तीन दिनको बीचमा शिथिल अवस्थामा देखिएको छ भने राप्रपा पनि आफ्नै ढंगले अघि बढ्न खोजेको देखिन्छ ।




























