
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाको बुईं चढेर नेपाली जनतालाई नतर्साउन चेतावनी दिएका छन् ।दलाल दलतन्त्र बिरुद्ध तेस्रो जनआन्दोलनको संकल्प सहित आजपाको दोस्रो स्थापना दिवसको अवसरमा काठमाडौंको कमलदी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले अहिलेको सरकार नै पवित्र उद्देश्यले नबनेको टिप्पणी गरे ।‘अहिलेको यो सरकार अनैतिक र अप्राकृतिक छ । हामी यसको अन्त्य चाहन्छौं । केपी ओलीले देउवा दम्पत्तिको बुँई चढेर दुनियाँलाई तर्साउन खोजिरहेका छन् । अपवित्र बाटोबाट देशलाई अन्धकारमा धकेल्न खोजिरहेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘कांग्रेस पार्टी त्यस्तो थिएन । विपीको विचार बोकेको कांग्रेस पार्टी त्यसो गर्न सक्दैन् । मदन भण्डारीको लिगेसी बोकेको एमालेले त्यसो गर्ने सोच्नै सकिँदैन । तर, अहिले ओली एण्ड देउवा कम्पनीको सरकार छ । यसले देशलाई गलत दिशा दिइरहेको छ ।’अहिले दलाल दलतन्त्र हाबी भएकोले देश दूरावस्थाबाट गुज्रिरहेको साहले टिप्पणी गरे । तर, आफूहरुको नेतृत्वको आन्दोलनले नेपालमा छिट्टै दलाल दलतन्त्रको अन्त्य हुने र आम जनता शासक एवम् मालिक बन्ने विश्वास उननले व्यक्त गरे ।‘आज नेपाल संकटबाट गुज्रिरहेको छ । सत्ता स्वार्थको अपवित्र, अनैतिक राजनीतिले जनता निराश छन् । जनता उकुमुकुसको अवस्थामा छन् । देशमा बढ्दो अस्थिरताको कारण देशकै अस्तित्व संकटमा परेको कुरा हामीले हेरिरहेका छौं । नेपाली जनताले अहिले देशमै भविष्य देख्न छाडे, हाम्रा युवाहरु विदेश पलायन हुँदैछन् । कुनै समय यस्तो थियो नेपालीहरु नेपालप्रति गौरव गर्दथे । अहिले विदेशी नागकिरता लिनेहरु गौरव गर्ने अनि यही देशमा बस्नेहरु पछुताउने अवस्था निर्माण भएको छ’ आजपा अध्यक्ष साहले भने ।नेपालका ठूला भनाउँदा नेताहरु विदेशीको इशारामा चलिराखेको गम्भीर आरोप उनले लगाए । उनले भने, ‘नेपालका नेताहरु विदेशीको ईशाराबिना श्वाँसपनि फेर्न सक्ने अवस्थामा छैनन् । वैदेशिक हस्तक्षेप बढ्दो छ ।’नेपालको विगत गौरव गर्नलायक भएपनि अहिलेका चोर नेताको कारण देशको अस्तित्व नै संकटमा पर्न थालेकोमा साह चिन्ता व्यक्त गरे । उनले भने, ‘इतिहासले भन्छ–नेपाल कहिल्यैपनि कसैको गुलाम भएन । कुनैपनि साम्राज्यवादीको उपनिवेश भएन । नेपालले एक स्वतन्त्र हैसियत बनाईराखेको थियो । तर, नेपालका दलाल नेताहरुको कारण अहिले देशकै अस्तित्व संकटमा छ । गौतम बुद्धको भूमि, यो देशले कुनै बेला पूरा विश्वलाई ज्ञान, ध्यान अनि दर्शन दिन्थ्यो । यो देव भूमि, तपस्याको भूमि । नेपाल आज विदेशीबाट गाईडेड छ । नेपालका नेताहरुको कुकर्मको कारण नेपाल आज लज्जित भएको स्थिति छ । हाम्रो पूर्वजले निर्माण गरेको गौरवलाई हामी फेरि माथि उठाउन सक्छौं । चोर नेताको कारण धुमिल भएको देशको इमेज फेरि बढाउन सक्छौं । नेपाली धर्ती गौरवशाली थियो । विदेशीहरु यो धर्ती टेक्नसाथ नतमस्तक हुन्थे । तर, आज यहाँका नेताहरुको कारण हामी लज्जित भएका छौं । नेपालीहरुको शीर निहुरिएको छ । अहिले त हरेक नेपाली विदेश जाने बहाना खोजिरहेका छन् । तर, म यो समारोहमार्फत तपाईंहरुलाई साक्षी राखेर भन्न चाहन्छु–हामी नेपालको गौरव बढाउँछौं ।’उनले अहिलेको व्यवस्थाले सही निकास नदिने भन्दै यसको अन्त्य आफूहरुले चाहेको र संघर्षको मैदानमा होमिएको स्मरण गराए । उनले थपे, ‘हामी नेपालको परिवर्तनको लागि धेरै लड्यौं । राजनीतिक आन्दोलन गर्यौं । नेपाल समृद्ध होस, जनतापनि समृद्ध होउन् भनेका थियौं । तर, यो भागबण्डाको राजनीतिले देश बर्बाद हुँदैछ । जनता लाचार छन् । नेपालको व्यवस्था गलत छ । नेता गलत छन् । त्यसलाई अन्त्य गर्न चाहन्छौं । गलत व्यवस्थालाई फाल्छौं । नेपाली जनतालाई मालिक बनाउँछौं ।’उनले अहिले ‘एउटा राजालाई हटाएर दर्जनौं राजा बनेका’ आरोप लगाए । उनले भने, ‘हिजो राजाका आसेपासेले राज गर्दथे, तर आज नेताका आसेपासेले राज गर्छन् । नेपाली जनता यतिवेला निराश छन्, उनीहरुलाई उत्साही बनाउँछौं । आजको यो ऐतिहासिक समारोह तेस्रो जनआन्दोलनको उद्घोषको दिनपनि हो । नेपालका नेताहरु गलत भएकै कारण आज देशमा यो बर्बादी भएको छ । म भन्छु–नेपाली जनता बहादुर छन् । सक्षम छन् । बरु, देशमा गलत नेतृत्व अनि गलत व्यवस्था छ । गलत राजनीति छ । हामी यसको अन्त्य चाहन्छौं । हामी चान्छौं पवित्र राजनीति होस । नैतिक राजनीति होस । देशमा सही व्यवस्था होस । नेपालमा त पटक पटक आन्दोलनमा त्याग, बलिदानी र समर्पण गर्नेहरुप्रति घात भयो । उनीहरुप्रति बेईमानी भयो । अब बेइमानहरुलाई तह लगाउने दिन आइसकेको छ ।’२०७९ को निर्वाचनमा कांग्रेस र एमाले विपरित धारको नेतृत्वमा भएपनि निर्वाचनपछि गठबन्धन गर्नु गलत भएको उनको टिप्पणी छ । उनले भने, ‘मिल्नु नै थियो भने चुनावमा किन विपरित गठबन्धन बनाएको ? जब चुनाव गराउनुभयो भने जनादेशको इमानदारीतापूर्वक पालना गर्नुपर्दथ्यो ।’ उनले हिजो संविधानसभाबाट संविधान जारी गर्दापनि लेनदेन र भागबण्डाको राजनीतिले नहुने कुरा लेखिएको साहको आरोप छ । उनले आजपाले अहिलेको व्यवस्थालाई बदलेर नयाँ व्यवस्था ल्याउने उद्घोष गरे । उनले अहिले सरकारपिच्छे कर लगाईएको आरोप लगाए ।
उनले अरु देशमा दुई तहमा कर लगाईएको भएपनि नेपालमा तीनै तहले जनतामाथि कर लादेको भन्दै आक्रोश पोखे । भारतमा जम्मा १४ शीर्षकमा कर लिने गरिएको भएपनि नेपालमा स्थानीय सरकार (महानगर) ले मात्रै १४ भन्दा बढि शीर्षकमा कर लिने गरेको उदाहरण पेश गरे । नेपालमा करको दायरा र दर दुवै बढि भएको भन्दै सच्याउनुपर्ने उनको सुझाव छ ।उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे–‘केपी ओलीजी, तपाईं नैतिकवान नेता हो भने कर लिने अधिकार कसरी राख्नुहुन्छ ? तपाईंका मातहतका उद्योग आज बन्द छन् । तपाईं सक्षम हो भने किन सरकारी उद्योग चलाउन सक्नुभएन ? यदि सरकारी उद्योगमा घाटा हुन्छ भने व्यक्तिको उद्योगमा कसरी नाफा हुन्छ ओलीजी ? मलाई जवाफ दिनुहोस ।’उनले सरकारका मातहत रहेका सबै सरकारी संस्थानहरुको हालत खराब रहेको र सबै घाटामा रहेको तथ्यांक सुनाए । उनले खाद्य संस्थान, साल्ट ट्रेडिङ, साझा बस, नेपाल एयरलाईन्स, नेपाल आयल निगम, रेलवे सबैको अवस्था खराब रहेको चित्रण गरे । उनले सरकारले आफ्ना उद्योग, धन्दा र संस्थान घाटामा चलाएर निमुखा जनता र साना तथा मझौला व्यवसायीहरुसँग कर लिने नैतिकता नराख्ने टिप्पणी गरे ।यस्तै उनले कवाड आन्दोलन आजपाको आन्दोलन भएको भन्दै कवाड व्यवसायीलाई दुख दिनेलाई आईटी आर्मीले तह लगाउने चेतावनी समेत दिए । ‘केही बर्दीधारीले कवाड व्यवसायीलाई दुख दिएका छन् । अदालतको आदेश मानेका छैनन् । तर स्मरण रहोस बर्दी कसरी लगाउँने प्रभु साहलाई राम्रोसंग थाहा छ । आईटी आर्मीले दुख दिनेलाई बर्दी लगाएरै तह लगाउँछ’ उनले भने ।आजपाका उपमहासचिव चन्द्रभुषण साहले सञ्चालन गरेको कार्यक्रम काठमाडौं उपत्यका विशेष कमिटीका इन्चार्ज एवं महासचिव अमर साहको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापा सहित नेताहरुको सहभागिता रहेको थियो । कमलादीको कार्यक्रम सुरु हुनुभन्दा अघि आजपाले सरकारको मनोमानी कर आतंक बिरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको थियो ।




























