काठमाडौँ । सुनको मूल्यले मंगलबार नेपाली सुनचाँदी बजारमा नयाँ रेकर्ड बनाएको छ । छापावाल सुनको मूल्य मंगलबार प्रतितोला एक लाख २३ हजार निर्धारण गरिएकोे छ । प्रतितोला एक लाख २१ हजारमा अघिल्लो दिन कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको छ ।मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २० हजार चार सय थियो ।महासङ्घले चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा मंगलबार प्रतितोला रु. ३५ ले बढेर एक हजार चार सय ४५ तोकिएको जनाएको छ । यसअघि गत पुस १२ गते प्रतितोला एक लाख २२ हजारको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो ।केही समय सामान्य रही यही फागुन २ गते एक लाख १६ हजार पाँच सयसम्म आएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै आज हालसम्मकै उच्च बनेको हो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार एक सय १५ डलर आसपास कारोबार भइरहेको छ ।