
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले किसानले बाली लगाउँने र बिउँ छर्ने बेलामा नै मलखाद्यको हाहाकार भएको बताएका छन् । मलखादको हाहाकार मचाएर दुई तिहाईको बलियो सरकारले खुलेआम कालोबजारी गरिरहेको बताउदै उनले अन्नदाता किसानलाई बचाउन सबैले सहयोग गर्नुपर्ने बताए ।प्रतिनिधि सभाको आज (बुधबार) बसेको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले तराई मधेस सहित पहाडका किसानहरु मलको अभावले तडपिरहेको बेला सरकार र प्रहरीको उच्च ओहोदामा बस्नेहरु किसानलाई लुटेर महल बनाउँने कार्य आफूलाई स्वीकार्य नभएको बताए ।‘सम्मानिय सभामुख महोदय, अहिले मल, खाद्यको अभाव छ, हाहाकार छ, बाली लगाउने बेला, विउ छर्ने बेलामा नै किसानले मल पाएका छैनन् । मल पाएपनि दुईदेखि तीन गुणा महँगोमा पाएका छन् । त्यो पनि सरकारी निकायले दिने ठाउँमा होईन, पसलहरुमा पाइराखेका छन् । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु–यो मल खरिद र वितरणको जिम्मा तपाईंको हो कि होईन ? केन्द्रीय सरकारको हो कि होईन ? यदि हो भने किसानप्रति किन यसरी अन्याय गर्नुहुन्छ ?,’ आजपा अध्यक्ष साहले भने ।पूर्वमन्त्री साहले नेपालको मूल आयस्रोत भनेको नै कृषि क्षेत्र भएको उल्लेख गरे । तर, कृषि क्षेत्रमा नै विभेद गरिएको कुरा भने पीडादायी भएको उनको गुनासो छ । किसानलाई मलखाद्य उपलब्ध गराउने जिम्मेवारी सरकारको भए पनि सरकार मौन बसेर किसानसंग खेलवाड गरिरहेको उनले बताए ।उनले भने,‘नेपालमा ३० लाख हेक्टर जग्गा, जहाँ ११ लाख मेट्रिक टन खाद्य चाहिन्छ, तर सरकारले पाँच लाख मेट्रिक टनको ठेग्गा गर्छ, तर त्यो पाँच लाख आयो त ? म सम्मानिय प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु । अहिलेसम्म तीन लाख मेट्रिक टन नेपाल आएको हामी सुनिराखेका छौं । आवश्यकत्ताभन्दा तीन गुणा कम उपलब्ध गराएर के सन्देश दिन खोजिदैछ । किसानलाई यसरी तड्पाएर मार्नुभन्दा बरु गला रेटेर मारेको भए राम्रो हुनेथियो नि ।’सरकारले किसानलाई मलखाद्य दिन पनि नसक्ने र यदी कुनै तरिकाले भारतबाट किसानले खाद्य ल्यायो भने प्रहरीले खोस्ने र लुट्ने काम गरेको उनले बताए । भारतमा आफै खाद्यको अभाव रहेको र चोरेर चाकरी गरेर किसानले एकदुई बोरा खाद्य ल्याउँदा प्रहरीले खोस्नु गलत भएको उनले बताए ।‘म प्रहरीका बर्दीधारी र फुलीधारीलाई सोध्न चाहन्छु कि तपाईं योग्य भएर त्यहाँ अफिसर बन्नुभयो, जसले खाद्यको जिम्मा लिएको छ, त्यसलाई तपाईं सोध्न सक्नुहुन्न, जसले जिम्मा लिएको छ उसले दिँदैन, अनि त्यहाँ तपाईंहरुको कानून लाग्दैन ? म आईजिपीलाई सोध्न चाहन्छु । अनि एउटा अवोध र कमजोर किसानलाई लछारपछार गरेर खाद्य खोस्नुहुन्छ । कुन नैतिकताले खोसेको हो ?’उनले नेपाली जनतालाई सेवा गर्ने जिम्मेवारी प्रहरीको पनि भए पनि प्रहरीले कुन नियम, कानून अनुसार किसानलाई लुटने काम गरेको भन्दै प्रश्न उठाए । किसानलाई लुटेर महल बनाउने जुन खेल भईरहेको छ त्यो नेपाली जनतालाई स्वीकार्य नभएको उनले बताए । नियम कानून अनुसार देश सञ्चालन गर्ने जिम्मेवारी प्रहरीको समेत भएको बताउदै उनले पैसाका लागि जेपनि गर्ने काम बन्द गर्न चेतावनी समेत दिएका छन् ।




























